दोलखाका गाउँहरु ः पहिले सुरक्षित, अहिले आतङ्कित !

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २
विश्वभर ’भुसको आगो झैं’ सल्किएको नयाँ भेरियन्टसहितको कोरोना भाइरस करोडाँैं मानिसको ‘ज्यानमारा’ बन्यो । करौडौं मानिस यसको ’आक्रमणमा’ परी हायलकायल बने । यो भाइरसले नेपाललाई पनि छाडेन । सुरूमा सहरी क्षेत्र आतङ्कित बनाएको कोरोनाले अहिले गाउँमा पनि सल्किएर ‘तहल्का’ मच्चाउन थालेको छ । दिनदिनै गाउँगाउँमा कोरोना संक्रमित फेला परिरहेका छन् । यो परिस्थित सिर्जना हुनुको कारण स्थानीय सरकारको सुस्त तयारी र स्वयम नागरिकको लापर्वाही हो ।
स्वास्थ्य कार्यालय दोलखाको आद्यवधिक तथ्याङ्क अनुसार आइतबारसम्ममा नयाँ भेरियन्टको कोरोनाबाट २ सय ८१ पुरुष र २ सय ७ जना महिला गरी ४ सय ८८ जना संक्रमित भएका छन् । ति मध्ये २ सय ६५ पुरुष र १ सय ९१ महिला गरी ४ सय ५६ जना सक्रिय संक्रमित रहेका छन्, भने १३ पुरुष र १३ महिला गरी २६ जना निको भएका छन् । ७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि गर्छ ।

केही साता अघि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएपछि दोलखा स्थायी घर भएका नागरिकहरुको गाउँगाउँमा ‘ओइरो‘ लाग्न थाल्यो । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा बैशाख २२ गतेदेखि ३१ गतेको अवधिमा ९ वटै पालिकाका गरी १ हजार ५ सय ५० जना नागरिकहरु सवारी साधनमार्फत् किर्ने र खरीढुङ्गा हुदैं जिल्ला भित्रिएका छन् । जिल्लामा पनि गत बैशाख २३ गतेदेखि ३१ गतेसम्मको लागि पहिलो चरणको निषेधाज्ञा लागू गरिएको थियो । उक्त समयमा काठमाडौंँ लगायतका जिल्लाबाट मानिस आउने क्रम रोकिएन । उनिहरुलाई होल्डिङ सेन्टरमा केहिबेर राखी तापकक्रम (ज्वरो) जाँचेर मात्रै घर पठाइने गरिएको थियो । घर गएपछि उनिहरुले सावधानी अपनाउनुको सट्टा लापर्बाही गरे । बाहिरी जिल्लाबाट फर्किएका र सहरबाट गाउँ फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने तथा घरमै सुरक्षित बस्न र बसाउनका निमित्त कुनैपनि निकायले ध्यान दिएनन् । नत गाउँ फर्किनेले नै सावधानी अपनाए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको पहिलो चरणको निषेधाज्ञाका कारण जिल्लाका मुख्य बजारमा रहेका मान्छेहरु गाउँगाउँ फर्कन थाले । अनि कोरोनाको कुनै प्रवाह नगरी गाउँमा आयोजित विवाह, जन्मदिनको पार्टी, पुजाआजा लगायतको वाहनामा भेला भए । जसका कारण जिल्लाका नौ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । बैशाख १० सम्म सुरक्षित मानिएका गाउँटोल अहिले कोरोनाको ‘हटस्पट‘ बन्दै जाँदा जनजीवन प्रभावित भएको छ । बाहिरी जिल्लाबाट फर्किएका मानिसबाट गाउँगाउँमा कोरोना फैलिएर अत्यन्तै प्रभावित हुन थालेपछि मात्र बल्ल जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको ध्यान बाहिरी जिल्लाबाट आउनेलाई क्वारेन्टाइनमा राख्नमा गएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दोलखाको शनिबार बसेको बैठकले जिल्ला बाहिरबाट आउने अधिकांश नागरिकहरूलाई स्थानीय तह वा वडाले निर्माण गरेको क्वारेन्टाइनमा १० दिन राखेर मात्रै घर पठाउने निर्णय गरेकोछ । १० दिन क्वारेन्टाइनमा बसेपछि गरिने पिसिआर परीक्षणमा कोभिड संक्रमण नभएको पुष्टि भएपछि मात्रै घर पठाउने निर्णय भएको हो । यो कार्यको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जून पौडेलले बताए ।

Shares

Be the first to comment on "दोलखाका गाउँहरु ः पहिले सुरक्षित, अहिले आतङ्कित !"

Leave a comment

Your email address will not be published.


*