इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २७
दोलखाको सदरमुकाम चरिकोटमा रहेका खाद्यान्न पसलहरुमा आज बिहान अनुगमन गरिएको छ । कोभिड १९ संक्रमण फैलिरहेको बेला व्यापारीहरुले खाद्य वस्तुकाे अस्वभाविक मूल्य बृद्धि गरेकाे भन्दै उपभोक्ताबाट गुनासो आएपछि बजारको अवस्था बुझ्न अनुगमन गरिएको हो । भीमेश्वर नगरपालिकाका बजार अनुगमन समितिका संयोजक एवं उपप्रमुख कमला बस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, दोलखा उद्योग वाणिज्य संघ, घरेलु उद्योग विकास समिति, कर कार्यालय, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरुको सक्रियतामा चरिकोट बजारका १२ वटा खाद्यान्न पसलको अनुगमन गरिएको बताइएको छ । २ समुहमा परिचालित अनुगमन टोलीले बसपार्क, चरिघ्याङ, सातदोबाटो, पशुपति डाडाँ लगायतका क्षेत्रका खाद्यान्न पसलहरुमा अनुगमन गरिएकाे हाे । अनुगमनका क्रममा व्यापारीहरुले चामल, तेल, चिनी लगायतका खाद्य वस्तुको मूल्य बृद्धि गरेको, अधिकांश पसलमा मूल्यसूचि नराखेको, म्याद नाघेका खाद्य वस्तु बिक्रीका लागी राखिएको पाइएको भीमेश्वर नगरपालिकाको बजार अनुगमन समिति संयोजक एवं उपप्रमुख बस्नेतले बताइन् । “बजारमा व्यापारीहरुले चिनी र तेलको मुल्य बढाएको पाइएयो । उनिहरुको पसलसम्म आइपुग्दासम्म उक्त वस्तुका मूल्यमा बृद्धि भएको भन्ने जानकारी व्यापारीहरुले दिएका छन् । यद्यपी पसलैपिच्छे चिनी र तेलको मूल्य फरकफरक पाइयो । यस्तो नगर्न व्यापारीहरुलाई निर्देशन दिइएको छ ।” उनले भनिन् । त्यस्तै मूल्यसूचि नराखेका पसलमा मूल्य सूचि राख्न र म्याद नाघेका वस्तु बिक्री नगर्न व्यापारीहरुलाई निर्देशन दिइएको छ । निषेधाज्ञा जारी रहेकोले चरिकोट बजार क्षेत्रका खाद्यान्न पसलहरु बिहान ६ बजेदेखि ८ बजेसम्म खुल्ने गरेका छन् ।
तस्बिर ः कल्याण खड्का
Be the first to comment on "उभोक्ताबाट गूनासो आएपछि चरिकोट बजारका खाद्यान्न पसलको अनुगमन"