दीक्षण समाचार
चरिकोट, बैशाख १७
दोलखाको भीमेश्वर नगरपालिका स्थित मकैबारीमा जन्मिएका विश्व साइकल यात्री पुष्कर शाह शुक्रबार सम्मानित भएका छन् । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोटको २५ औं स्थापना दिवस अर्थात् रजत वर्षको अवसरमा साइकल यात्री शाह सम्मानित भएका हुन् । उनलाई भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले कदर पत्र र सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले दोसल्ला ओढाएर र जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईँले नगद १० हजार हस्तान्तरण गरी एक साथ सम्मान गरे । साइकलको माध्यमबाट विश्व भ्रमण गरी दोलखा सहित नेपाललाई चिनाउन पु¥याएको योगदानको कदर र उच्च सम्मान गर्दै सहकारीको रजत वर्ष अवसर पारी शाहलाई सम्मान गरिएको सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताए । सम्मानित साइकल यात्री शाहले पर्यटन प्रर्वद्धनको लागि साइकल चालकहरुलाई स्थानीय सरकारले प्रोत्साहित गर्नुपर्ने बताए । साथै उनले सहकारी संस्थाको प्रशंसा गर्दै जनकल्याण साकोसले आफ्ना शेयर सदस्यलाई कल्याण गरिरहेको र समृद्ध राष्ट्र निर्माणको अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । अर्को प्रसंगमा मानिसले सफलताको सपना देख्ने र सपना पूरा गर्ने मार्गमा संघर्षरत हुनुपर्ने साइकल यात्री शाहले बताए । आमासँग केही रकम मागेर हिँडेका शाहले ४ हजार १५ दिनमा आफ्नै खर्चमा संसारका १ सय ५० वटा देश साइकलमार्फत् घुमेर स्वदेश फर्किएका थिए । त्यसपछि उनले सफलतापूर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा समेत चढका थिए ।
स्मारिका विमोचन
हाम्रो जनकल्याण साकोसले तथा ’हाम्रो जनकल्याण साकोसको २५ औं बर्ष नामक‘ स्मारिका विमोचन गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सावधानीका साथ २५ स्थापना दिवस अर्थात रजत वर्षको अवसरमा स्मारिका विमोचन गरिएको हो । भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले संयुक्त रुपमा स्मारिकाको विमोचन गरेका हुन् । स्मारिकामा सहकारीले गरेका गतिविधी, सहकारीसँग सम्बन्धित लेखहरु समावेश गरिएको छ । सहकारी अभियान्ता, सहकारी प्रेमी तथा सहकारीमा आबद्ध सदस्यहरुको लागि सो स्मारिका पठनका लागि महत्वपूर्ण हुने संस्थाले जनाएको छ ।
सो अवसरमा अपाङ्गता भएका व्यक्ति संस्थाका शेयर सदस्य इगुमाया कार्कीलाई नगद २ हजार रुपैयाँ उपलब्ध गराइएको छ । कार्कीलाई केही राहत होस् भन्ने उद्धेश्यका साथ खादा ओढाएर सम्मान गरी रकम उपलब्ध गराइएको हो । सोही अवसरमा ८० वर्ष उमेर समुहका जेष्ठ नागरिक सेयर सदस्यहरुलाई १ बट्टा हर्लिक्स र एकवटा ब्ल्याङ्केट वितरण गरेको छ । ८९ वर्षिय नर बहादुर बस्नेत सहित ४ जनालाई उक्त सामग्री वितरण गरिएको छ । बाँकी जेष्ठ नागरिक सेयर सदस्यहरुलाई उनिहरुकाे घरमै पुगी वितरण गरिने संस्थाका अध्यक्ष राजन श्रेष्ठले बताए । रजत वर्ष सबै शेयरदस्यकाबीच मनाउने योजना रहेको भएपनि कोरोनाका कारण सीमित व्यक्तिको माझमा मनाइएको हो ।
रक्तदान कार्यक्रम सम्पन्न
सहकारी संस्था लि.ले आफ्नो २५ स्थापना दिवस अर्थात् रजत वर्षको अवसरमा बिहीबार चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । ’रक्तदान जीवन दान‘ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्लाको प्राविधिक सहयोग रहेको थियो । कोरोना महामारीले आंतक मच्चाइरहेको समयमा रगत अभावकै कारण कोही कसैले जीवन गुमाउनु नपरोस् भनि आवश्यक स्वास्थ्य सावधानी अपनाई रक्तदान कार्यक्रम गरिएको हो ।
Be the first to comment on "विश्व साइकल यात्री शाह सम्मानित"