हिरालाल बराल चरिकोट, दोलखामा मानवीय कमजोरी तथा लापर्बाहीका कारण डढेलो लाग्ने गरेको पाइएको छ । वनमा राम्रा घाँस पलाउने र हिंस्रक जनावर भगाउने भन्दै आगो लगाउने, चुरोट तथा बिँडी खाई ननिभाई जथाभावी फाल्ने, जङ्गल नजिकको बारीमा पातपतिङ्गर पोल्ने, आगो बाल्ने जस्ता लापर्बाहीका कारण डढेलो लाग्ने गरेको पाइएको हो । डिभिजन वन कार्यालय दोलखाकाका अनुसार १ महिनाको अवधीमा जिल्लाका साँढे १२ सय हेक्टर क्षेत्रफल सामुदायिक वनमा डढेलो लागेको थियो । चालु आर्थिक वर्षको चैत्र महिनामा जिल्लाको ५० वटाभन्दा बढी वनमा डढेलो लागेको थियो । वनमा डढेलो लाग्दा जटिबुटी तथा वन पैदावर नष्ट भएका छन् । जङ्गली जनावर, चराचुरुङ्गी डढेलोमा परी मरेका छन् । तर क्षति कति भयो भन्नेबारे यकिन तथ्याङ्क संकलन गर्न अझै नसकिएको कार्यालय प्रमुख शिव सापकोटाले बताए । उनले भने ‘क्षणिक लाभ हुने लोभमा परी वनमा जानीजानी आगो लगाउने गरेको पाइयो । कतिपय स्थानमा असावधानीका कारण वनमा डढेलो लाग्ने गरेको छ । यद्यपी केकति क्षति भयो भन्ने एकिन विवरण संकलन गर्न सकिएको छैन् ।’ नियतवश तथा लापर्बाही गरी वनमा डढेलो लगाउने व्यक्तिलाई कारबाही गर्न सकिने कानुनी प्रावधान भएपनि डढेलो लगाउने व्यक्तिको पहिचान गर्नै नसकिएको उनको भनाइ छ ।
सचेतना आवश्यक
जिल्लाका सामुदायिक तथा कबुलियती वनमा वर्षेनी डढेलो लाग्ने गरेको छ, तर सम्बन्धित कार्यालयले वन डढेलो लाग्नै नदिन कुनै ठोस किसिमको कार्य गरेको पाइदैन् । न त यसप्रति चासो नै दिएका छन् । सचेतनामुलक कार्यक्रमहरु गरेको पाइदैन्, त्यस्ता कार्यक्रम गरेपनि त्यसलाई व्यापकता नदिदाँ प्रभावकारी हुन नसेको जानकारहरु बताउँछन् । सम्बन्धित कार्यालय तथा वन उपभोक्ता समुहहरुले वन डढेलोबाट हुने नोक्सानी तथा यसको असरबारे जानकारी दिइने र वन संरक्षण गर्नुपर्ने जस्ता विषयसमेटी सचेतनामूलक कार्यक्रमलाई व्यापकता दिइनुपर्ने, वन क्षेत्र आसपासमा बसोबास गर्नेहरुलाई आगलागी नियन्त्रण सम्बन्धि तालिम दिइनुपर्ने, वनमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याइनुपर्ने सर्वसाधारणहरुले माग गरेका छन् ।
Be the first to comment on "दोलखामा १ महिनामा जिल्लाका साँढे १२ सय हेक्टर क्षेत्रफल सामुदायिक वनमा डढेलो"