राजकुमार भुजेल
चरिकोट, बैशाख ६
दोलखाको तामाकोशी गाउँपालिकाले सूचिकृत हुनबाँकी सहकारी संस्थाहरुलाई सूचिकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले २०७७÷३१ चैत्रमा एक सूचना जारी गर्दै पालिकामा कार्यक्षेत्र भई सञ्चालित ३० वटा सहकारी संस्थाहरुलाई १५ गतेभित्र पालिकामा सूचिकृत हुन अनुरोध गरेको हो । पालिकामा रहेका ६० वटा सहकारी संस्थामध्ये ३० वटा सहकारी संस्था सुचिकृत भईसकेका छन् । बाँकी ३० वटा सहकारी संस्थाहरुलाई पनि पालिकाले सूचिकृत हुन पटकपटक अनुरोध गरेतापनि उक्त अनुरोधलाई वेवास्ता गरी सूचिकृत हुन अटेर गरिरहेका छन् । सूचिकृत हुन बाँकी सहकारीहरुले संस्था दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, पछिल्लो आ.वको लेखा परीक्षण प्रतिवेदन, पछिल्लो आ.वको कर चुक्ता प्रमाणपत्र, पछिल्लो साधारणसभाको प्रतिवेदनको प्रतिलिपी र निवेदनसहित सुचिकृत हुन अनुरोध गरिएको पालिकाले जनाएको छ । सूचनाको वेवास्ता गरी समयमैँ सूचिकृत हुन नआउने सहकारी संस्थाहरुलाई पालिकाभित्र सहकारीका गतिविधी सञ्चालन गर्न बन्देज गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।
Be the first to comment on "सहकारीहरुलाई तामाकाेशी गाउँपालिकाकाे अनुरोध ः सूचिकृत हुन आउनु"