जानुका न्यौपाने
माथि मञ्चमा उभिएर म भाषण गर्छु
वर्तमानको कुसंस्कार र छाडापनले गर्दा
दुई चार महिनादेखि निदाउन नसकेका मान्छेहरू हो !
म तिमीहरूलाई ढुक्कको निद्रा दिनेछु
त्यो निद्रामा तिमीहरूले
मैले देखेकै सपना देख्नु पर्नेछ
मैले देखेकै सपना देख्नेछौ ।
भोलिपल्ट
मेरा वरिपरिका मानिसहरूले मुस्कुराउँदै
मीठो निद्रा सुत्नेछन्
मीठो सपना देख्ने छन्
र, सोध्ने छन् एक अर्कालाई
गए राती कस्तो सपना देखियो ?
मज्जाले निदाइयो ?
निदाएँ नि ! सपना पनि देखेँ
अर्कोले कानमा गुन्गुनाउँछ सपना
अप्पुई ! मैले पनि त्यै सपना त देखेँ
अर्कोले पनि त्यसै भन्छ, अनि अर्कोले.. अर्कोले..
हरेक रातैपिच्छे
उस्तै सपना देखेर मक्ख पर्नेहरूका अगाडि
अर्को समूहका मान्छेहरू अब एकछिनै ननिदाउने भए
सडकमा हिँड्दा हिँड्दै पनि चिच्याउन थाले
निद्रामा अनि सपनामै बोल्न थाले
त्यो भन्दा म ठीक,
त्यसको घर भन्दा मेरो घर बलियो
म बढी सुबिधा दिन्छु भन्दै
यसरी सडकै ढाकेर निद्रामा एकोहोरो हिँडिरहेको भीड हेर्दै ।
म मन्चमा झन चर्को स्वरमा भाषण गर्नमै व्यस्त रहन्छु
गदगद भएर मुस्कुराइरहन्छु
मैले उसलाई पछारें भनेर
सपनाको भ्रमले छ्याप्प छोपिएका मेरा आँखा
त्यो मञ्चमा भाषण गरिरहँदा मेरो नजरको ठूलो पर्दामा
मैले सपनाको अझ ठूलो रुप देखिरहेको छु
म अझ सपनामै छु, ठूलो भ्रममा,
मैले उसलाई अनि उसको समूहलाई पछारें ।
म गदगद छु
मेरा समूहका मानिसहरूलाई
निद्रा दिएको छु,
सपना दिएको छु,
भ्रम दिएको छु
म, ठूलो मान्छे,
मेरो घर ठूलो,
मैले पीउने पानी शुद्ध
मैले खाएको खाना गुणास्तरीय
त्यही भनेर मञ्चबाट भाषण गरिरहन्छु
र, म ठूलो पदमा पुग्नेछु
त्यसका सपना, सपनामा नै सिध्याई दिन्छु
मनमनै सोचेर
खुशीले मडारिँइदै गर्दा
निद्राबाट झसंग व्यूझिन्छु र यसो हेर्छु
मेरो अगाडि
न,त दर्शक,श्रोता या ताली
कोही अनि केही रहेनछ
मात्र खाली, खाली
बिस्तारामा पल्टिरहेको हुन्छु
मेरो सपना बाड्ने
उसलाई सिध्याउने
सपना, सपनामै सिमित रहन्छ,
मञ्चको मेरो भाषण भाषणमै सिमित रहन्छ
न त पदमा, न मेरो शक्ति,
न मेरा कुरा कसैले सुनेछन्
न राम्ररी निदाएछन्
न मीठो सपना देखेछन्
निद्राको भाषण निद्रामै सिमित रह्ये
म त एक्लै फगत एक्लै पो रहेछु
म त लगभग सात घण्टाको सपनामा
फगत सपनामा मात्रै पो खुशी भएछु ।
मात्रै सात घण्टा पो खुशी भएछु ।
Be the first to comment on "सपनाको खुसी"