जन्म दर्तासँगै एक हजार रुपैँया

चरिकोट, –दोलखाको भीमेश्वर नगरपालिकामा बच्चा जन्मिएको ३५ दिनभित्र पञ्जिकाधिकारी कहाँ गई जन्मदर्ता गराएमा अभिभावकले जन्मदर्ताको प्रमाण–पत्रसगैं १ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ । सुत्केरी आमा र बच्चाको पोषण स्थित मजबुत बनाउने उद्देश्यका साथ आर्थिक वर्ष २०७५÷०७६ देखि नगरले यस्तो व्यवस्था लागू गरेको गरेको हो । आमा र बच्चालाई असल पारिवारिक वातावरणमा पोषणयुक्त खाना सेवन गराई स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणको दुरदृष्टि लक्ष्यले यो व्यवस्था गरिएको नगरउप्रमुख कमला बस्नेतले बताइन् । चालु आवको साउनदेखि हालसम्म ४ सय ३० जना बच्चाको जन्मदर्ता भएको छ । तर ९४ जनाको मात्र ३५ दिनभित्रै अभिभावकले जन्मदर्ता गराई प्रमाण–पत्रसगैं जनहि १ हजार रुपैयाँ पाएका पञ्जिकरण शाखाकी मंगला मानन्धरले बताइन् । उनका अनुसार अन्य वडाको तुलनामा वडा नं.२ का २२ जनाको जन्मदर्ता भएको छ । सबैभन्दा कम वडा नं. ३ र ४ मा ४–४ जनाको जन्मदर्ता भएको छ । वडा नं. १ मा २०, वडा नं. ५ मा ७ जना, ६ मा ९ जना, ७ मा ९ जना, ८ मा १४ जना र ९ मा ५ जनाको ३५ दिनको अवधिमा जन्मदर्ता गरिएको छ । यो व्यवस्था बारे व्यापक प्रचारप्रसार नभएको कारण समयमै जन्मदर्ता गर्नेको संख्या न्यून रहेको छ । यसको प्रचारप्रसारलाई व्यापक बनाई सबै सुत्केरी आमा र बच्चालाई नगरको यो सेवा उपलब्ध गराउनुपर्ने सरोकारवाला बताउँछन् ।

Shares

Be the first to comment on "जन्म दर्तासँगै एक हजार रुपैँया"

Leave a comment

Your email address will not be published.


*