इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ९
चालक होस् वा सर्वसाधारण, दुबैले ट्राफिक नियमको पुर्ण परिपालना गर्नुपर्छ । यसका लागि सबैमा ट्राफिक नियम सम्बन्धी आवश्यक ज्ञान हुनुपर्छ । यहि ज्ञान सिकाउनका लागि सडकका साथै गाउँटोलमा समेत ट्राफिक प्रहरीले सक्रियता देखाउन थालेको छ । पछिल्लो समयमा दोलखा ट्राफिक प्रहरीहरु सचेतना कार्यक्रमका साथ बजारदेखि गाउँका विद्यालयमा पुग्ने गरेका छन् । विद्यार्थीहरुलाई ट्राफिक सचेतना प्रदान गर्न प्रत्येक महिनाको १ पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् प्रहरी नायब निरीक्षक भानुभक्त नेपाल सहितको टोली विद्यालयमा सचेतना कार्यक्रम लिएर पुग्ने गरेका हुन् ।
स्थानीय सरकार र विद्यालयहरुको समन्वयमा कार्यक्रम गरी विद्यार्थीहरुलाई सचेत र सजक बनाउन ट्राफिक नियमका साथै अपराध बिरुद्धको सचेतना प्रदान गरिदैँ आएको छ । कार्यालयका अनुसार सचेतना कार्यक्रममा ट्राफिक संकेत, नियम, जोखिम, ट्राफिक नियम उल्लघंन गर्दा भोग्नु पर्ने सजाय, दुर्घटना न्युनिकरणमा विद्यार्थीको भूमिका लगायतको विषयमा भिडीयो, पर्चापम्प्लेट सहित जानकारी दिइने गरिएको छ । चालु आवको साउनदेखि मंसिरसम्म कोरोना भाइरसको कारण विद्यालय बन्द थियो । विद्यालय सञ्चालनमा आएसगैँ विद्यालयमा सचेतना कार्यक्रम सुरुवात गरिएको छ । हालसम्म कालिञ्चोक मावि, अल्पाइन पब्लिक स्कुल, राइजिङ स्टार इङलिस बोर्डिङ स्कुल, आँकुरा इङलिस बोर्डिङ स्कुल, खिम्ती प्रोजेक्ट बोर्डिङ स्कुल विद्यार्थीहरुलाई कार्यक्रम गरि सचेतना प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् प्रहरी नायब निरीक्षक भानुभक्त नेपालले बताए । विद्यालयमा सचेतना कार्यक्रम गर्दा विद्यार्थीको अभिभावक सम्म सिकाएका कुरा पुग्नुका साथै सडक सुरक्षामा सघाउ पुग्ने विश्वास ट्राफिक प्रहरीले लिएका छन् । विद्यालयमा विभिन्न समुदायका विद्यार्थी अध्ययनका लागि आएका हुन्छन् । ति समुदायलाई ट्राफिक नियमबारे जानकारी गराउन विद्यार्थी माध्यम हुन सक्ने भएकोले सचेतना कार्यक्रमलाई अगाडी बढाइएको हो । ट्राफिक प्रहरीले सडकका अलावा विद्यालयमा पनि सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु अत्यन्तै राम्रो कार्य भएको बताएका छन् । ट̭ाफिक प्रहरीको यस्ता कार्यहरुले दुर्घटनामा कमी आउने विश्वास गरिएको छ । ट्राफिक नियममा कडाइ गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम सम्बन्धी विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । ट्राफिक प्रहरीले चेकजाँचलाई कडा गरेपनि कोही कसैलाई अनावश्यक रुपमा दुख भने नदिएको प्रमुख प्रहरी नायब निरीक्षक नेपालले बताए । राजस्व सङकलन भन्दा पनि दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरी कार्यालयको उदेश्य रहेको उनले बताए ।
Be the first to comment on "विद्यालयमा ट्राफिक नियम सम्बन्धी ज्ञान !"