पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भइ नियमित काममा फर्किसकेका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङखलामा १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ कार्तिक ३० गते ःआज गोरुतिहार । सानामा हामी देउसी खेल्ने योजना बनाउँदै हुन्थ्यौं । अघिल्ला वर्षहरुमा गाउँका दिदीवहिनी आएर ल अर्जुन देउसी त खेल्नुपर्छ है भन्थे । खेलिन्थ्यो पनि । यो साल त्यस्तो कुनै योजना थिएन । एकजना साथीले कौडा सम्झिरहेका थिए । साथिहरुले आज खालमा बस्दा सम्झे होलान । उनले भनेका थिए । हिजो बेलुका दिपावली गरेको घरको फोटो खिचेको थिएँ अँध्यारोमा । आज उज्यालोमा खिचें । उज्यालो र अँध्यारो दुवैमा खिचेको तस्विर एकैठाउँमा राखेर हेर्दा गज्जब लाग्छ । एक घण्टाअगाडि देखिएको दृश्य एकघण्टा पछाडि पुरै फेरिएको हुन्छ । साँच्ची जीवन पनि त यस्तै त हो नि । एकैछिनअगाडि गज्जब भइरा हुन्छ । एकछिनमा वर्वाद हुन्छ । एकैनाश त के भैरहन्छ र । परिवर्तन निरन्तर भैरहेको हुन्छ ।विहान घामको टाइम ल्याप्स भिडियो खिच्न खोजें मोबाइलबाट । ट्राइपड नभइ नहुने रैछ । साना बुटामा अड्याउन खोज्दा मोबाइल खस्यो । अँहँ यो भिडियो खिच्न सकिएन । धन्न मोबाइल चैं फुटेन । पिपिइ सेट लगाएर स्वास्थ्यकर्मीले हाम्रो स्वास्थ्य परिक्षण गरे । डाक्टरले परिक्षण गर्दा पनि निसास्सिने खालको कपडा लगाउन पर्ने । रोग पनि कस्तो कडा पो लाग्यो । कसैलाई छुन पनि नहुने । मैले उनले परिक्षण गरेका तस्विरहरु खिचिरहेको थिएँ । मेरै पालो आएपुगेपछि उनले एउटा फोटो खिच्न मन गरे । मैले मेरै मोबाइल साथीहरुलाई दिएँ । उनीहरुले नै फोटो खिचे । साँच्ची उनले फोटोको रहर नगरेको भए त मेरो यो बसाइको फोटो नै पो हुने थिएन होला । कुनै दिन कोरोनाबारे आफ्नै कुरा भन्दा पनि मानिसहरुले हावा कुरा भन्थे होलान । उनले सबै परिक्षण गरे । उनले लिएका तापक्रम, रक्तचाप, रगतमा अक्सिजनको मात्रा लगायत सबै स्वास्थ्य सुचकहरु गज्जब थिए । तैपनि म रोगी थिएँ । रोग लाग्नु र त्यसका कुनै लक्षणहरु नहुनु पनि एक गज्जबको अवस्था हो । परिक्षणमा रोगी नदेखिनु र लक्षणहरु हुनु पनि त्यस्तै गज्जबको अवस्था हो ।खाना खाइसकेपछि एकजना साथी चरिकोटतिर लागे । एक साथीले दहि र रोटी ल्याइदिए । हामीले रोटी तातोपानीमा तताएर खायौं । चिसो त छुनै पो भएन नि ।आफ्नै घरमा आउनु । कतै ननिस्कनु । घरबाट फोन गर्दा सबैले यसै भनेका थिए । घरका मान्छेलाई अहिलेकै सबैभन्दा ठूलो रोग लागेको छ । आफनै घरमा बसे मुख त देखिन्थ्यो भन्ने लागेको होला । मुल बाटोमा घर छ । घरैमुनी यसपाल पिङ हालेका छन् । पानीको धारा पनि छ । गाउँमा कसैलाई रुघा मात्रै लाग्यो भने । जिन्दगीभरी सराप्छन् होला । केहि दिनअगाडि कुनै कारण नभई एकजना मित्र डुक्रँदै आएको सम्झिएँ । यहाँ त आफू रोगी छु । कुनै लक्षण छैनन् । तैपनि शरिरमा रोग त छ नि ।मैले केहि लुगाहरु धोएँ । नुहाएँ । एकजना साथीले काठमाण्डौमा कोरोना परिक्षण गर्न जाने आइडिया शेयर गरे । उनको आइडिया अनुसार आज कोरोना परिक्षणका लागि काठमाण्डौ जाने । नेगेटिभ आए घर जाने । पोजेटिभ देखिए यहिँमा आउने । तिहारमा घरमा नरमाइलो नहोस भन्ने उनको योजना थियो । भनेजस्तो कहाँ हुन्छ र । गाडी नपाएपछि उनको योजना सेलायो । उनको मात्रै के भन्नु हामी सबैको योजना । एकजना जनप्रतिनिधीले तिहारमा हामीलाई टिका लगाइदिन भनेर सबैलाई टोपी र अन्य सामाग्री पनि किनेका थिए भनेर सुरक्षाको जिम्मा लिएका दाइले जानकारी दिएका थिए । केहि साथीहरु टीका नलगाउने भन्नेमा थिए । केहि लगाउने भन्नेमा थिए ।बेलुका जनप्रतिनीधी मोटरसाइकल दुर्घटनामा परेछन् । उनको टाउकोमा गम्भिर खालको चोट लागेको थियो रे । राती नै उनलाई उपचारका लागि काठमाण्डौ लगिएछ ।योजनाहरु त कत्ति हुन्छन् मानिसहरुसँग । ति पुरा हुने नहुने त भगवानलाई मात्र थाहा होला । भगवानको इच्छा भएन भने मानिसले चाहेर मात्र के नै हुने हो र ! जनप्रतिनीधीको हामीलाइ टीका लगाइदिने योजना त पुरा भएन नै । उनको परिवारमा पनि तिहारमा खुसी हैन आँशु बग्यो । घरनजिकैको तामाकोशी जस्तै गरेर ।क्रमश………..
Be the first to comment on "गाडी नभेटेर सेलाएको योजना………………………."