एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कानूनी लडाइँबाट पुनः राष्ट्रपति बन्न नसकेमा अबको चार वर्षपछि पुनः चुनाव लड्ने बताएका छन् ।
मंगलवार साँझ ह्वाइट हाउसमा आयोजित क्रिसमस प्रीतिभोजमा उनले सन् २०२४ मा चुनाव लड्ने बताउँदै आफू नै यस निर्वाचनको विजेता भएको बताए । ‘चार वर्ष गजबका रहे । हामी पुनः अर्को चार वर्षका लागि कोशिश गर्नेछौं,’ ट्रम्पले भेला भएका मानिसलाई बताए । पार्टीमा रिपब्लिकन नेसनल कमिटीका धेरै सदस्यहरू थिए । सम्बोधनका क्रममा उनले अहिले राष्ट्रपति बन्न नपाएमा चार वर्षपछि फेरि चुनाव लड्ने भन्दा मानिसहरूले खुशियाली मनाएका थिए । ओक्लाहोमा रिपब्लिकन पार्टीका अध्यक्ष पाम पोलार्डले सामाजिक सञ्जालमा ट्रम्पको भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा अनेकौं मानिस ह्वाइट हाउसको क्रस हलमा भीड गरेर बसेको अनि ट्रम्पको सम्बोधन सुनेको देखिन्छ । धेरैजसोले मास्क लगाएका थिएनन् । उनले निर्वाचनमा धाँधली भएको भन्ने दाबी दोहो¥याइरहे जबकि महान्यायाधिवक्ता बिल बारले व्यापक धाँधलीको कुनै प्रमाण जस्टिस डिपार्टमेन्टले फेला नपारेको र सन् २०२० को निर्वाचन परिणामलाई केही कुराले पनि उल्ट्याउन नसक्ने बताइसकेका छन् । ‘यो अनौठो वर्ष हो । हामीले चुनाव जित्यौं तर उनीहरूलाई त्यो मन परेन । म यो धाँधलीपूर्ण चुनाव हो भन्छु र सधैं भन्नेछु,’ उनले बताए । इलेक्टोरल कलेज भोटले बाइडनलाई जिताएमा आफूले पदत्याग गर्ने भनी ट्रम्पले बताएको केही दिनपछि यस्तो टिप्पणी आएको हो । बाइडनले चुनाव जितेदेखि नै ट्रम्पले आफूमाथि धोकाधडी भएको र हार स्वीकार गर्न बाध्य पारिएमा सन् २०२४ मा चुनाव लड्ने बताउँदै आएका छन् ।
Be the first to comment on "ट्रम्पले दिए सन् २०२४ मा पुनः चुनाव लड्ने संकेत"