पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङखला १५ अंकसम्म प्रकाशन गर्नेछौं।
२०७७ कार्तिक २७ गते ःनियमित काम गरेपछि कोठामा हामीलाई दिइएका सामानहरुको फोटो खिचें । हामीले प्रयोग गर्ने सबै सामानको सरसफाइ हामी आफैंले गर्नुपर्ने थियो । फोटोले कुनै दिन यसरी बसेको सम्झाउला । नत्र त सबै कुरा समयसँगै विर्सिन्छन् । विश्वले भोगेको यो त्रासदी पनि । सबै कुरा सम्झेर साध्य हुँदा पनि त हुँदैन । प्रकृतिले मानिसलाई दिएको एउटा सबैभन्दा ठूलो गूण भनेकै सम्झनुजस्तै विर्सनु त हो नि । विहानको खाजा खाइसकेपछि एकजना साथी काठमाण्डौ गए । उनले क्वारेन्टाइनमा पानी पनि तताएर नदिएका कारण बस्न नसकेको बताएका रहेछन् क्यार । खाना खाने बेलामा भान्से दाइले हामीले काम गरिरहँदा पनि खान नै दिएनौ भनेर भन्नुभएछ भनेका थिए । सायद व्यवस्थापन पक्षले फोन गरेका हुन सक्छन् । साँढे ९ मा बहिनीले फोन गरेकी थिइ । धेरै कुरा भएन । घर कैले आउने भनेर सोधेकी थिइ । मैले टुङ्गो छैन भनें । नजाने टुङ्गो नै थियो । मलाई भलिभाँति जानकारी थियो यो वर्ष तिहारमा उसको र मेरो भेट हुनेछैन । म घर जान मिल्दैन । जान हुन्न । यो तिहारमा उसको हातको टीका लगाउन पाइन्न । तर सबै ठाउँमा सत्य बोलेर पनि त नहुने रैछ । मैले उसलाई कुनै जानकारी दिइन । उ आज नै घर आउँदै थिइ । ११ बजेतिर घाम पिपलको ठूटामा छेपारो घाम तापिरहेको थियो । छेपारोले घाम तापेको देख्दा पनि मानिसहरु छेपाराका बारेमा कथा बनाउँछन् । घाम तापुन्जेल छेपारोले बेलुकाको चिसो विर्सन्छ भन्छन् । आनन्दले पारिलो घाम तापेको देखेर त्यसो भनेका होलान । नत्र त छेपारालाई सोध्न चाँहि को गयो होला त ? उसको घर बनाउने योजना कसले थाहा पायो होला ? सबै विषय अनुमानकै न हुन् ! आज चाँहि छेपारोको फोटो खिचें । अगाडि पनि फोटो खिच्न खोज्दा छेपारो भागेको थियो । म राधासँग कुराकानी गरिरहेका बेलामा पिपलका ठुटामा छेपारो घाम तापिरहेको थियो । कोरोना विमा दावीका लागि पोजेटिभ रिपोर्ट चाहिन्छ भन्ने कुरा छ । अस्पतालले अझै रिपोर्ट पठ ाएको छैन । यत्रो दिन दूख पाइसकेपछि रिपोर्ट छापिँदा चैं नेगेटिभ भनेर आयो भने ! दिउँसो अस्पतालमा फोन गरें । उताबाट फोन उठाउनेले जवाफ फर्कायो अझै रिपोर्ट आइपुगेको छैन । एकजना साथीका शरिरमा विमिरा देखिए । अरु साथीहरुले आफ्ना आफ्ना अनुमान लगाए । कसैले दादुरा भने, कसैले घमौरा । कसैले हाँसो गर्दै भनेको सम्झिएँ । हरेक नेपाली डाक्टर हुन । उनिहरुलाई सबै रोग तथा ओखतीको जानकारी हुन्छ । साँढे ७ बजेतिर अहेव आएर टाढैबाट चेकजाँच गरे । साथीलाई केहि ओखती पनि दिएर गए । ९ बजेतिर पछिल्लो पटकको जाँचमा पोजेटिभ नतिजा देखिएका २ जना आइपुगे । उनिहरुको हिजो स्वाव संकलन भएको थियो । आज विहानतिर रिपोर्ट आएको थियो ।
एकजना आउनेवित्तिकै हल्ला गर्न लागे । कोरोना पोजेटिभ आएको सुन्नेवित्तिकै घरमा आमा धेरै रोएको र छिमेकीहरु नबोलेको उनले सुनाएका थिए । मोबाइलमा ब्यालेन्स सकियो । रिचार्ज कार्ड किन्न खोज्दा पनि कसैले दिएनन् । उनले सुनाएका थिए । उनले घरमै बनाएको रक्सी ल्याएको थिए कि । उनको स्वर रक्सी खाएको जस्तो लागेको थियो मलाई । उनले रक्सीलाई पनि नयाँ नाम दिएका थिए । फोक्सोटाइजर । उ कहिले झाँक्री काम्दा बोल्नेजस्तो बोल्थे । कहिले देउसी खेल्थे । हेला त हेला । साह्रै हेला भयो भनेर । बिमा दावी गर्नका लागि बेलुका मोबाइलमा डाटा लिएर निवेदन कृष्ण सारुलाई पठाएँ । फेसबुकमा विश्वासले तपाँइको रिपोर्ट के आयो भनेर अफलाइनमा सोधेका रहेछन् । जवाफ दिइन । विश्वाससँग स्वाव दिन जाँदा अस्पतालमा भेट भएको थियो । उनी र मैले बेसार व्यापारका बारेमा छलफल गरेका थियौं त्यस बेला । भाई इश्वर बोल्न खोजिरहेको थियो । डाटाको अवधी सकिन लागेको भएर कुरा भएन ।क्रमश………..
Be the first to comment on "फोक्सोटाइजरको कमाल !"