इश्वर बिश्वकर्मा चरिकोट, –हरियो डाँडा माथी हलो जोत्ने साथी हो हो माले, हो हो हो तारे हो हो……….,गीतले भने झैँ भीमेश्वर नगरपालिकाका वडा नं. ८ बोच स्थित यार्साका धन बहादुर तामाङले केहि वर्ष अघि ’हह’ भन्दै आफ्नो बारी हलोले जोत्थे । हलोले बारी जोत्न निकै समय लाग्थ्यो । तर अहिले बारी जोत्नकै लागि हलोजुवा खोज्ने र गोरु पाल्ने झन्झटबाट उनि मुक्त भएका छन्, भने उनको समयको पनि बचत भएको छ । किन कि उनले दुई वर्षदेखि बारी जोत्न हाते ट्याक्टरको प्रयोग गर्दै आएका छन् ।
घरेलु तथा साना उद्योग विकास समितिद्धारा उनले हाते ट्याक्टर अनुदानमा पाएका हुन् । खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोगले निकै सजिलो हुन्छ ।उनले भने गाउँमा अहिले अरुले पनि खेतबारी जोत्नको लागि ट्याक्टर किनेर ल्याएका छन् । जमाना अनुसारको कृषि प्रविधीको प्रयोग गर्नाले कृषि उत्पादन पनि बढ्न थालेको छ ।छिमेकी किसानहरुको समेत खेतबारी जोत्न उनलाई बोलाउने गर्दछन् । जसबाट उनको आम्दानीको स्रोत पनि थपिएको छ । ट्याक्टर बिग्रीएमा उनि आफैले बनाउने प्रयास गर्छन् । यदि बन्न सकेन भने चरिकोट बजारमा ल्याउछन् र बनाएर लान्छन् ।“ त्यस्तै भीमेश्वर नगरपालिका ४ जिलुका कृष्ण बहादुर श्रेष्ठले पनि केहि बर्षअघि खेतबारी जोत्न छिमेकीले कहिले पालो देलान् भनेर पर्खनु पर्थ्यो ।हलो, जुवा र गोरु पाउन मुस्किल पर्दथ्यो । पाएपनि ढुक्क भएर प्रयोग गर्न सक्ने अवस्था थिएन । तर दुई बर्ष अघि वडाबाट ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाएपछि उनको लगायतका नजिकका किसानहरुको खेतबारीमा गोरुको सट्टा हाते ट्याक्टर कुद्दै आएको छ । हलो, जुवा, गोरु र हली खोज्ने समस्याबाट यहाँका किसानहरु मुक्त भएका छन् ।
उनि भन्छन् ,गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेतबारी जोत्न छिटो तथा सजिलो हुन्छ । त्यसैले यसको राम्रो माग छ, छिटोछरितो काम गर्न निकै उपयोगी साधन बनेको छ, हाते ट्याक्टर ।कालिञ्चोक गाउँपालिका वडा नं. ८ सुनखानीका हरि शिवाकोटी, भीमेश्वर नगरपालिका ७ काउलेका उद्दव खड्काले पनि हाते ट्याक्टर प्रयोग गरि खेतबारी जोत्दै आएका छन् । उनिहरुले मात्र होइन पछिल्लो समय जिल्लाका प्रायः सबै किसानहरुले हाते ट्याक्टरको प्रयोग गर्न थालेका छन् । जसले गर्दा काठे हलो हराउने अवस्थामा पुगेको छ, भने किसानहरुले गोरु पाल्न पनि छाडिसकेका छन् । हलोजुवा बनाउने, गोरु पाल्ने झन्झटबाट मुक्त भई तेलको प्रयोग गरि धेरैमात्रमा खेतबारी जोत्न सकिने र श्रम र समयको बचत हुने भएपछि हाते ट्याक्टरको प्रयोग बढेको हो ।जिल्लाको ९ वटै स्थानीय सरकारले कृषकहरुलाई व्यवसायिक बनाई कृषि उत्पादन बृद्धिका लागि वर्षेनी हाते ट्याक्टर वितरण गर्दै आएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले जनप्रतिनिधी बहाली पश्चात् करिब ७० वटा भन्दाबढी हाते ट्याक्टर वितरण गरेको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको चरिकोट बजार यही पालिकामा रहेकोले कृषि प्रविधीको उपलब्धता सहज हुने गरेको छ । जसले गर्दा हाते ट्याक्टरसहित अन्य प्रविधीको समेत प्रयोग बढेकोे कृषि शाखा प्रमुख राधिका बुढाथोकीले बताइन् ।यस्तै जिरी नगरपालिकाको कृषकहरुलाई गत आर्थिक वर्ष २०७६र०७७ मा युएनडिपीसँगको साझेदारीमा ६६ वटा हाते ट्याक्टर वितरण गरिएको छ । मेलुङ गाउँपाकिाले पनि सोही आवमा ६९ वटा हाते ट्याक्टर वितरण गरेको छ । त्यसैगरि जिल्लाको बैतेश्वर गाउँपालिकाले गत आवमा ७ वटा मात्र हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाका कृषि अधिकृत होम प्रसाद दाहालले बताए ।
कालिञ्चोक, शैलुङ लगायतका गाउँपालिकाले पनि गत वर्षहरुमा किसानलाई हाते ट्याक्टर सहित विभिन्न कृषि प्रविधि वितरण गरेको थियो । चालु आर्थिक वर्ष पनि विभिन्न आधुनिक कृषि प्रविधी तथा औजार अनुदानमा किसानहरुलाई वितरण गरिने पालिकाहरुले जनाएका छन् । कृषि प्रविधीको प्रयोगले कृषिलाई व्यवसायिक र आधुनिक बनाउन सहयोग गरेको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाको कृषि प्रसार अधिकृत नन्दराज ओलीले बताए ।हाते ट्याक्टरको प्रयोगले काठे हलो विस्थापित भएको कसैलाई पनि कुनै फरक नपर्ने उनले बताए । व्यवसायिक कृषि गर्नेले युग सुहाउदोँ प्रविधीको प्रयोग गर्नु आवश्यक हुन्छ । हाते ट्याक्टरको प्रयोगले काठे हलोको प्रयोग कम भए झैँ अन्य प्रविधी पनि प्रयोग गरि परम्परागत विधीलाई त्याग्नुपर्छ । तथापी आधुनिक प्रविधीलाई महँगो मुल्य पर्ने हुदाँ यसको सबैमा पहुँच पुर्याउन शहुलियत बनाउनुपर्ने र स्थानीय सरकारले परम्परागत प्रविधीको प्रयोग गरिरहेकोलाई आधुनिक प्रविधी अनुदानमा वितरण गर्नुपर्ने कृषि प्रसार अधिकृत ओली बताउँछन् ।
Be the first to comment on "हाते ट्याक्टर आयो ः काठे हलो हरायो"