चरिकोट, –दोलखाको कालिञ्चोक गाउँपालिकाको सबै वडामा बुधबार खेलकुदका सामाग्री वितरण गरिएको छ । खेलकुदमा युवाहरुको आकर्षण बढाई उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ पालिकाको ९ वटै वडामा खेलकुदका सामग्री वितरण गरिएको हो । भलिबल, फुटबल, भलिबल पम्प, नेट, एन्टिना, सिट्ठी लगायतको सामग्री वितरण गरिएको पालिकाले जनाएको छ । प्रत्येक वडाका लागि भलिबल २, फुटबल २, नेट १, एन्टेना १, भलिबल पम्प १, सिट्ठी २ वटाको दरले वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले बताए । गत आर्थिक वर्ष २०७६/०७७ मा खेलकुदका लागि १८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । उक्त बजेटबाट विभिन्न खेलकुदका कार्यक्रम गर्दा केहि रकम खर्च भएको थियो । तर बाँकी कार्यक्रम गर्ने तयारी गरिएको बेला विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले सबै कार्यक्रम गर्न सम्भव रहेन । जसले गर्दा बाँकी रहेको रकमले चालु आर्थिक वर्षमा खेलकुद सामग्री खरिद गरि सबै वडामा वितरण गरिएको खेलकुद विकास समिति कालिञ्चोक गाउँपालिकाका सदस्य अर्जुन थापाले बताए । वडामा खेलकुद कार्यक्रम आयोजना गरिएको बेला पालिकाले वितरण गरिएको सामग्री प्रयोग गर्नुपर्ने छ । खेलकूद सामग्री वितरणले खेल जगतमा थप उर्जा मिल्नुको साथै पालिकालाई खेलकुद क्षेत्रमय बनाउन महत्वपूर्ण भूमिका हुने थापाले बताए ।
Be the first to comment on "दोलखाको कालिञ्चोक गाउँपालिकामा सबै वडामा खेलकुद सामाग्री वितरण"