इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गर्ने भएको छ ।सरकारले प्रदान गर्ने सेवासुविधा परिचयपत्रकै कारण कोही पनि अपाङ्गता भएका व्यक्ति वञ्चित नहोउन भन्ने उद्देश्यले परिचयपत्र वितरण गर्न लागिएको हो । सोमबार पालिकाले एक सुचना जारी गर्दै अपाङ्गता परिचय पत्र पाउनको लागि निवेदन पेश गर्न अनुरोध गरेको छ । आउँदो मंसिर १६ गतेसम्म आवश्यक कागजात सहित परिचयपत्र प्राप्त गर्न निवेदन दिन सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्माले बताए । सम्भव भए व्यक्ति स्वयम एवं उक्त व्यक्ति परिवार वा संरक्षकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । निवेदनको ढाँचा सबै वडा कार्यालयको सुचना पाटी र पालिकाको वेबसाइटमा रहेको जनाइएको छ । निवेदनमा पासवर्ड साइजको २ प्रति फोटो, सम्भव भए अपाङ्गता देखिने १ प्रति फोटो पेश गर्नु पर्ने छ ।
कार्यालयमा दर्ता भएका निवेदन माथि छलफल गरेर परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत बिश्वकर्माले बताए । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई ४ समूहमा विभाजन गरेको छ। पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन्। अपाङ्गता भएका व्यक्तिले परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सेवा सुविधा र आरक्षण पाउने गरेका छन् ।
Be the first to comment on "मेलुङ गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण गर्ने"