इश्वर बिश्वकर्मा
चरिकोट, भदौ १५
सामुदायिक आँखा केन्द्र चरिकोटमा लकडाउन अवधीभर १ हजार भन्दा बढीले आँखा परिक्षण गराएका छन् ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण रोक्न चैत ११ देखि भएको लकडाउन र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधिमा १ हजार २१ जनाले आँखा परिक्षण गरेका हुन् ।
केन्द्रमा आँखा परिक्षण पश्चात् ५ सय २५ जनाले चस्मा लगाएका छन् । २ सय १३ जनाले औषधी लिएको केन्द्रको प्रमुख पदम चौधरीले बताए । त्यसैगरि ९९ जनाको आँखाको शल्यक्रियाका लागि सामुदायीक आँखा केन्द्र दोलखामा जान सुझाइएको छ । केन्द्रमा दैनिक ५ देखि १० को संख्यामा बिरामी आँखा परिक्षणको लागि आउने गरेका छन् । जेष्ठ नागरिक र दम, मधुमेह, मुटुरोगीजस्ता दिर्घरोगीहरुलाई कोरोना भाइरसको धेरै जोखिम हुन्छ । त्यसैले त्यस्ता व्यक्तिहरु अतिआवश्यक बाहेक आँखा केन्द्रमा नआउन कार्यालय प्रमुख चौधरीले अनुरोध गरे ।
मोबाइल तथा कम्प्यूटरको अत्याधिक प्रयोगको कारण पछिल्ला बर्षहरुमा आँखाका बिरामी बढेका छन् । त्यस्तै बढ्दै गएको धुलोधुँवा र वायुप्रदूषणले आँखाको समस्या पनि बढ्दै गएको प्रमुख चौधरी बताउँछन् । २०७३ सालमा स्थापना गरिएको सामुदायिक आँखा केन्द्रमा आँखा जाँच गराउन रामेछाप, सिन्धुपाल्चोक लगायतको जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । केन्द्रमा सहुलियत शुल्कमा आँखा परिक्षण गराउन सकिन्छ ।
Be the first to comment on "सामुदायिक आँखा केन्द्र चरिकोटमा लकडाउन अवधीमा १ हजारभन्दा बढिले गरे आँखा परिक्षण"