इश्वर बिश्वकर्मा
चरिकोट, साउन ३२
गाईभैँसीमा नयाँ संक्रामक रोग लम्पी स्किनको संक्रमण भित्रिन नदिन उच्च सर्तक रहन दोलखाका किसानहरुलाई आग्रह गरिएको छ ।
नेपालको पुर्वी जिल्लाबाट सुरु भई विभिन्न जिल्लामा फैलिदैँ गएकोले उक्त रोग दोलखामा गाईभैँसीमा लाग्न नदिन उच्च सर्तक रहन भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले आग्रह गरेको हो ।
गाईभैँसीमा लाग्ने नयाँ किसिमको रोग छिमेकी जिल्लाहरुको केही स्थानमा देखा पर्न थालेको पाइएको छ । दोलखामा पनि प्रवेश गर्न सक्ने भन्दै केन्द्रले किसानहरुलाई नआतिन तर सर्तक रहन आग्रह गरेको छ ।
केन्द्रका अनुसार बन्दाबन्दी भएकोले दोलखा जिल्लामा उक्त रोग भित्रिने सम्भावना कमै रहेको छ । तथापी पनि रोकथाम र नियन्त्रणका लागि सबै स्थानीय तह र किसानहरु सचेत रहनुपर्ने हुन्छ ।
संक्रमितलाई टोकेको लामखुट्टे, झिँगा, उपिँया, किर्नाको टोकाईबाट स्वस्थ गाईभैँसीलाई लम्पी स्किन रोग सर्ने भएकोले त्यस्ता जीवको टाकाईबाट जोगाउनुपर्ने हुन्छ । गाईभैँसीको गोठ वरीपरि पानी जम्न नदिने, खाल्टाखुल्टी पुर्ने लामखुट्टेका फुल नष्ट गर्न मट्टीतेल छर्कने, डिसइन्फेक्सन स्प्रे छर्कने र दिनहुँ गोठको सरसफाइ गर्नुपर्ने विज्ञ केन्द्रका डाक्टर निशान्त शर्माले बताए ।
त्यस्तै संक्रमित स्थान तथा संक्रमण उच्च जोखिम स्थानबाट पशु ओसारपसार गर्न नहुने उनले बताए । जिल्लामा हाल लकडाउन भएकोले पशुहरु ओसारपसार कार्य बन्द छ । यदि लकडाउन खुलेको खण्डमा पनि जोखिमयुक्त जिल्लाबाट खरिदबिक्री गरि ओसारपसार नगर्न उनले आग्रह गरेका छन् । उनले नेपाल उक्त रोग लागेका गाईभैँसीलाई स्वस्थ पार्ने कुनै खोप वा औषधी नभएकोले पशुप्राविधीक तथा पशुचिकित्सकको सल्लाह बमोजिम ज्वरो घटाउने र संक्रमण नियन्त्रण गर्न औषधी खुवाउनु पर्ने बताए । गाईभैँसीमा ज्वरो आउने, शरिरका विभिन्न भागहरुमा गिर्खा वा गाठागुठी देखा पर्ने, गिर्खाहरु फुट्ने र पानी वा पिप बग्ने, दुब्लाउदै जाने दुध उत्पादन ह्रास हुने र कचेरा, सिँगान निकाल्ने लगायतको लक्षण देखिना साथ ढिला नगरि पशुचिकित्सक वा स्थानीय तहमा जानकारी गराउन उनले किसानहरुलाई अनुरोध गरेका छन् ।
Be the first to comment on "दोलखामा गाईभैँसीमा लाग्ने लम्पी स्किन राेग भित्रिन नदिन सर्तकता अपनाउन आग्रह"