दोलखामा २५ हजार युनिट विद्युत चुहावट

इश्वर बिश्वकर्मा चरिकोट, साउन २५

दोलखामा १ वर्षको अवधीमा २५ हजार भन्दा बढी युनिट विद्युत चुहावट भएको छ । नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रको अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा २५ हजार ९ सय १ युनिट विद्युत चुहावट भएको हो ।

प्राविधीक कारणले भन्दा पनि चोरीबाट हुने चुहावट बढी रहेको छ । प्राविधीक चुहावट भने करिब ११ प्रतिशत रहेको छ । जिल्लाको कालिञ्चोक, मेलुङ र बैतेश्वर गाउँपालिकाका ग्राहकले बढीमात्रामा विद्युत चोरी गरि चुहावट गर्ने गरिएको पाइएको छ । गत आवको साउन देखि फागुनसम्ममा विद्युत चुहावट नियन्त्रण अभियानको क्रममा विद्युत चुहावट गर्ने १ सय ८२ जना व्यक्तीहरु कारबाहीमा परेका थिए । कारबाहीबाट गर्दा ५ लाख ३९ हजार ९ सय १ लाख रुपैँया बराबरको राजस्व संकलन भएको केन्द्रका कार्यालय प्रमुख डिपिन ढकालले बताए ।

हुकिङ्घ गरि बाल्ने, मिटर बाइपास लगायतको उपायहरु अपनाएर विद्युत चुहावट गर्ने गरिएको पाइएको छ । विद्युत चुहावट गर्ने मानिसहरुको सामान जफत गर्ने, लाइन काट्ने, मिटर झिक्ने र जरिवाना तिराइने गरिएको प्रमुख ढकालले बताए । अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्ष विद्युत चुहावट हुने क्रम घटेको उनले बताए ।

१ करोड भन्दा बढी युनिट विद्युत खपत

दोलखामा १ वर्षको अवधीमा १ करोड भन्दा बढी युनिट विद्युत खपत भएको छ । केन्द्रको अनुसार गत आवमा १ करोड ५० लाख ५० हजार ८ सय २२ युनिट विद्युत खपत भएको हो । ३४ हजार ६ सय ६९ ग्राहकलाई १७ करोड ६६ लाख ६५ हजार २ सय ६३ रुपैँया ४६ बराबरको विद्युत बिक्री गरिएकोमा विद्युत् महशुलबापत १६ करोड ७३ लाख ५९ हजार १ सय ५२ रुपैँया संकलन गरेको छ । ९५ प्रतिशत सफलता प्राप्त गर्न सफल भएको केन्द्रका कार्यालयका लेखा प्रमुख माधव प्रसाईँले बताए । जिल्लामा हालसम्मको अवधीमा ३ करोड ३४ लाख ५१ हजार ४ सय १० रुपैँया विद्युत महशुल उठ्न बाँकी रहेको उनले बताए । जिल्लामा २३ सय ५४ जना नयाँ विद्युतका ग्राहक थपिएका छन् । अघिल्लो वर्ष ३२ हजार ३ सय १५ जना विद्युतका ग्राहक रहेकोमा बढेर ३४ हजार ६ सय ६९ ग्राहक पुगेका छन् । त्यसैगरी जिल्लामा १२ हजार भन्दाबढी काठको पोल विस्थापन गरि फलामे पोल गाडिएको छ । ३ हजार काठको पोल विस्थापन गर्न बाँकी रहेकोले क्रमश ः विस्थापन गरिने केन्द्रले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा २५ हजार युनिट विद्युत चुहावट"

Leave a comment

Your email address will not be published.


*