इश्वर बिश्वकर्मा
चरिकोट, साउन १
कोरोना भाइरस महामारीबाट ऐतिहासिक महत्वको रांके जात्रा प्रभावित भएको छ ।
शैलुङ गाउँपालिका वडा नं ८ भैसे बजारस्थित रांकेडाँडामा बर्षको एकपटक लाग्ने रांके जात्रा कोरोना भाइरसको कारण यो बर्ष नलाग्ने भएको हो ।
प्रत्येक वर्षको साउने सङ्क्रान्तिको भोलीपल्ट अर्थात् साउन २ गते जात्रा लाग्ने गर्दथ्यो । जात्रामा विषेश गरि विभिन्न वस्तु खरिदबिक्री तथा साटासाट गरिन्थ्यो । कृषि र औद्योगिक उत्पादनहरु खरिदबिक्री तथा साटासाट हुने जात्रामा छिमेकी पालिका मेलुङ गाउँपालिका लगायत विभिन्न स्थानबाट हजारौंको संख्यामा मानिसहरु जात्रा हेर्न आउने गरेका थिए ।
तर यो बर्ष कोरोना भाइरसको कारण जात्रा लाग्ने अवस्था रहेन । भीडभाड नगर्न, धेरै मानिसहरु भेला नहुन नेपाल सरकारले गरेको अनुरोधलाई पालना गर्न यस बर्ष जात्रा स्थगित गरिएको वडाध्यक्ष रामेश्वर उप्रेतीले बताए । उनले भने “ ऐतिहासिक महत्व र विशेषताको रांके जात्रा एक शताब्दी देखि चलिआएको छ । यसले कृषक, उद्यमी र उपाभोक्ताबिचको विनीमय बढाएको छ । तर यो बर्ष जात्रा लगाउन सम्भव छैन । जात्रा मनाउन कोही कसैले पनि भैसे बजार नआउन आग्रह गर्दछौं ।”
रांके जात्रा मात्र होइन, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको चाडपर्व र जात्रा यो बर्ष प्रभावित भएका छन् । सांस्कृतिक र धार्मिक आस्था संरक्षणका लागि घरमैं सांकेतिक रुपमा जात्रा र मेला हर्षउल्लासका साथ मनाउन सरोकारवालाहरु बताउँछन् ।
Be the first to comment on "रांके जात्रा प्रभावित"