ईश्वर बिश्वकर्मा
चरिकोट, असार ३१
असार महिना सकिन १ दिन मात्रै बाँकी रहँदा दोलखामा ९२.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
यस वर्ष समयमैँ मनशुन सुरु भई पर्याप्त पानी परेकोले धान रोपाइँ लभगभ सकिएको हो । जिल्लाको कालिञ्चोक, विगु, बैतेश्वर लगायत गरि ९ वटै स्थानीय तहको तल्लो भेगमा धान खेती गरिन्छ ।
जिरी , भीमेश्वर नगरपालिका, शैलुङ , बैतेश्वर , गौरीशंकर र विगु गाउँपालिकामा ९५–९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । त्यसैगरि कालिञ्चोक र मेलुङ गाउँपालिकामा ९०–९० र तामाकोसी गाउँपालिकामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । विगत वर्षहरुमा आधा साउनसम्म धान रोपाई चल्थ्यो । यो वर्ष भने असारमै धान रोपाइँ करिब सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालयका कृषि विकास अधिकृत नन्दराज ओलीले बताए । अधिकाँश क्षेत्रकाे राेपाइँमा हाते ट्याक्टर लगायतका प्रविधीकाे प्रयाेग भएका थिए ।
Be the first to comment on "दोलखामा ९२.२ प्रतिशत धान रोपाइँ"