मेलुङ गाउँपालिकाले १० उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने

ईश्वर बिश्वकर्मा –चरिकोट, दोलखाको मेलुङ गाउँपालिकाले आगामी वर्षदेखि उत्कृष्ट कृषक छनौट गरि पुरस्कृत गर्ने नीति लिएको छ । व्यवसायिक तथा आधुनिक कृषिमा लागेका १० कृषकलाई उत्कृष्ट घोषणा गरि पुरस्कृत गर्ने भएको हो । मेलूङ उत्कृष्ट कृषकलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारसहित सम्मान गरिने योजना बनाईएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । साथै विभिन्न अनुदान पनि उपलब्ध गराइने छ । पशुपालन, फलफुल र जडिबुटी खेती लगायतका कृषिजन्य काम गर्ने कृषकलाई अनुगमन र मुल्याङकनको आधारमा उत्कृष्ट घोषणा गरिने उनले बताए । युवापुस्तालाई कृषि प्रति आकर्षित गराउन मेलुङ उत्कृष्ट कृषक घोषणा कार्यक्रमले सघाउ पुग्ने पालिकाका प्रवक्ता हिराकुमार थोकरले बताए ।
कृषकलाई परिचयपत्रको व्यवस्था
मेलुङका कृषकहरुलाई प्रोत्साहन र सम्मान स्वरुप परिचय पत्रको व्यवस्था गरिने भएको छ । कृषि प्रति आकर्षण गराउन पालिकाका व्यवसायिक र आधुनिक कृषिमा लागेका कृषकहरुलाई परिचयपत्र व्यवस्था गरिने भएको हो । परिचय पत्रले कृषकलाई चिनाउन भुमिका खेल्ने जनाइएको छ ।
बीउ बैंकको स्थापना
पालिकामा रैथाने जातको संरक्षण गर्न बीउ बैंकको स्थापना गरिने भएको छ । स्थानीय स्तरमा उत्पादन हुने क्षेत्रमा हाइब्रिड र अन्य जातको बाली लगाउनाले रैथाने बाली लोप हुन थालेपछि संरक्षण र संवद्र्धनका लागि बीउ बैंकको स्थापना गरिने भएको हो । बैंक स्थापना भएमा जिल्लाकै पहिलो बैंक मेलुङमा रहनेछ । पालिकामा स्थानीय जातको मकै, फापर लगायतका बाली लोपोन्मुख अवस्थामा रहेको पालिकाका अध्यक्ष श्रेष्ठले बताए ।
विद्यालयमा मानव मुत्र संकलन गरि मल
अर्गानिक खेतीलाई प्रवर्द्धन र संवर्द्धन गर्न सामुदायिक विद्यालयमा मानव मुत्र संकलन गरि मलको रुपमा प्रयोग गर्ने भएको छ ।मानव मुत्र संकलन गरि किटनाशक औषधी तथा प्राङ्गारिक मलको रुपमा उपयोग गरिने आगामी नीती पालिकाको रहेको छ । साथै प्राङ्गारिक खेतीका लागि गोठ सुधार, हरियो मल र कम्पोष्ट मल निर्माण र सम्बन्धी तालिम प्रदान गरिने पालिका प्रवक्ता थोकरले बताए । साथै दुहुना भैंसी, एक हक गोरु खरिदका लागि ३ प्रतिशत ब्याजमा ऋण दिलाउन संघिय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने, कृषि उपज बजारीकरण र बिक्रीका लागि दु्रत ढुवानी सेवा प्रदान गरिने जनाइएको छ । त्यस्तै प्राङ्गारिक खेतीमा जोड दिई कृषि प्रविधिको प्रयोग गरिने आगामी नीति रहेको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाले १० उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने"

Leave a comment

Your email address will not be published.


*