रासायनिक मल र विषादीको प्रयोगले शैलुङको माटोमा अम्लीयपन

चुन वितरण गर्दै पालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ४
दोलखाको शैलुङ गाउँपालिकाको कृषकहरुको बारीको माटोमा अम्लियपन देखिएको छ ।
रासायनिक मल र विषादीको अत्याधिक प्रयोगले खेतीयोग्य माटोमा अम्लियपन देखिएको हो ।
गत वर्षको पुस महिनामा पालिकाको ५ वटा वडाका १ सय ३१ जना कृषकहरुको माटाको नमुना परिक्षण गर्दा १ सय २५ जना कृषकहरुको बारीको माटोमा अम्लियपन देखिएको पालिकाले जनाएको छ ।
वडा नम्बर १, २, ३, ६ र ८ का किसानहरुको खेतबारीमा अम्लियपन देखिएको छ । ६ जना कृषकको माटो भने तटस्थ रहेको परिक्षणबाट देखिएको थियो । पालिकाकाे कृषि शाखाकी प्रमुख गंगामाया जिरेलका अनुसार कृषकहरुको बारीमा औषत ६० देखि ७० प्रतिशतसम्म अम्लियपन देखिएको छ ।
कृषकहरुले खेतीपातीको क्रममा रासायानिक मल र विषादीको जथाभावी प्रयोगले माटोमा अम्लियपन देखिएको उनले बताइन् । माटोमा अम्लियपनले गर्दा अन्नबाली उत्पादन नहुने र भविष्यमा कृषीयोग्य भुमी काम नलाग्ने समेत हुने उनले बताइन् ।
उर्वराशक्ति बढाउन चुन वितरण
कृषकहरुको बारीको माटोमा अम्लियपन देखिएपछि पालिकाले माटो उपचार गरि उर्वराशक्ति बढाउन कृषकहरुलाई चुन वितरण गरेको छ ।
५ वटै वडाका कृषकहरुलाई करिब ६६ हजार रुपैया बराबरको चुन वितरण गरिएको हो । चुन वितरणसगैँ कृषकहरुलाई चुन प्रयोग गर्ने विधी र अन्नबालीमा प्राङगारिक मलको प्रयोग बारे जानकारी दिईएको कृषि शाखाकी प्रमुख जिरेलले जानकारी दिइन् ।

Shares

Be the first to comment on "रासायनिक मल र विषादीको प्रयोगले शैलुङको माटोमा अम्लीयपन"

Leave a comment

Your email address will not be published.


*