भीमेश्वर नगरपालिकाद्धारा स्थानीय जातको बिउ वितरण गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन २५
दोलखाको भीमेश्वर नगरपालिकाले कृषकहरुलाई स्थानीय जातको कृषि बिउ वितरण गर्ने भएको छ ।
नगरले स्थानीय जातको अन्नको बिउ संरक्षण गर्दै उत्पादन बढाउन ७५ प्रतिशत अनुदानमा अन्नको बिउ वितरण गर्ने भएको हो ।
नगरले प्राङगारिक कृषिमा जोड दिदैँ स्थानीय जातको बाली संरक्षण गर्न कोदो, फापर र धान वितरण गर्न लागेको नगर कृषि शाखाकी प्राविधिक सहायक राधिका बुढाथोकीले बताइन् ।

“पछिल्लो समय हाइब्रीड जातको बिउ प्रयोग बढ्दै गएकोले स्थानीय जातका बालीहरु लोप हुने अवस्थामा रहेको छ । यसको संरक्षणका लागि नगरपालिकाका कृषकहरु नै सक्रिय हुनुपर्ने हुन्छ । त्यसैले स्थानीय जातको अन्नबालीको बिउ वितरण गर्न लागिएको हो ।” उनले भनिन् ।
भिमेश्वर नगरपालिका ७ का कृषक ज्ञान बहादुर शाही भन्छन् “हाइब्रीड जातका बिउ प्रयोग धेरै गर्ने गरिएको छ । हाइब्रीड जातका बिउको भन्दा स्थानीय जातको अन्नबालीमा पौष्टिक तत्व बढी हुन्छ ।”

उन्नत जातको अन्नबाली राम्रै उत्पादन हुने गरेको भएपनि रैथाने बाली जस्तो नहुने गरेको कृषकहरु बताउँछन् ।
उन्नत जातका बिउ मँहगोमा किनेर मुद्रा विदेश पठाउन भन्दा रैथाने बालीको संरक्षण तथा सम्बद्र्धन गर्न स्थानीय तह र कृषकहरु जुट्नु पर्ने उनिहरु बताउछन् । रैथाने जातका अन्नको बिउ वितरण गर्ने सुचना सुनेर किसानहरु हर्षित भएका छन् ।
बिउ प्राप्त गर्न कृषक समुह र सरकारीहरुको माग निवेदन दिनुपर्ने छ । कृषि सहकारी र कृषक समुहको बैठक निर्णयको प्रतिलिपी, नविकरण गरेको संस्थाको प्रमाणपत्रको प्रतिलिपी, सहकारी भए सहकारीको अघिल्लो आर्थिक वर्षको लेखा समितिको प्रतिवेदन र कर चुक्ता सहित माग  वडा कार्यालय तथा नगर कार्यालयमा  निवेदन दिन भीमेश्वर नगरपाालिकाले अनुरोध गरेको छ । नगरले प्राङगारिक कृषिमा जोड दिदैँ किसानहरुलाई कृषि प्रबिधि र विभिन्न सहयोग गर्ने गरेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाद्धारा स्थानीय जातको बिउ वितरण गरिने"

Leave a comment

Your email address will not be published.


*