चरिकोट (दीस) । दोलखाकी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्तिमाया तामाङ पाख्रिनले विदेशिएका नागरिकको घरबार बिगार्नेलाई कडा कारवाही गर्नु पर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै उनले विदेशमा रहेका नेपालीको श्रीमान वा श्रीमतीलाई लोभ्याएर घर बिगार्ने पुरुष वा महिला जो भए पनि कारबाही गर्नुपर्ने बताइन् । त्यस्ता विरुद्ध कारबाही गर्न कडा कानूनको माग गरेकी छन् ।
सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर रोजगारीका निम्ति विदेशिएका युवा युवतीको स्वदेश फर्किदा कमाएर पठाएको सम्पत्तिसमेत गुमाउनुपर्ने अवस्था रहेको भन्दै उनले यसलाई रोक्न कडा कानूनको माग गरेकी हुन् ।
पाख्रिनको भनाइ उनकै शब्दमा
सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर नेपाली युवायुवती रोजगारीका निम्ति विदेशिएका हुन्छन् । यो नेपाली युवायुवतीको रहर होइन बाध्यता हो ।
खाडीको मरुभूमिमा तपतप पसिना चुहाउँदै श्रम गरी तीन चार बर्षपछि घर फर्किँदा आफ्नो साथमा न त श्रीमान अथवा श्रीमती, न त दुख गरी कमाएको पैसा नै हुन्छ ।
तसर्थ यो नेपाली समाजमा झागिंदो अवस्थामा रहेको विकृति हो ।
श्रीमान विदेश हुँदा अथवा श्रीमती विदेशमा हुँदा घरपरिवार सम्हाल्न नसक्ने महिला र पुरुष वा अर्काको घरपरिवार विगार्ने पुरुष र महिला दुबैलाई कडा भन्दा कडा कानुनको ब्यवस्था गर्नुपर्छ भनी म यस गरिमामय सदनमा सभामुखमार्फत सम्बन्धित निकायसमक्ष माग गर्दछु ।
Be the first to comment on "विदेशिएका नागरिकको घरबार बिगार्नेलाई कडा कानुन बनाउन सांसद पाख्रिनको माग"