ईश्वर बिश्वकर्मा
चरिकोट, पुष ११
दोलखा भीमेश्वर नगरपालिकालाई बिषादीमुक्त बनाउने उद्धेश्यका विषादी नियन्त्रण अभियान सुरु गरिएको छ ।
“प्राङ्गारिक खेतीलाई प्रोत्साहन, विषादी प्रयोगमा न्युनिकरण” भन्ने नाराका साथ नगरपालिकाको सबै वडामा बिषादी नियन्त्रण अभियान सुरु गरिएको हो ।
विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सबै वडाका कृषकहरुलाई सचेतना दिने उद्धेश्यका साथ अभियान कार्यक्रमलाई तिब्र पारिएको नगरले जनाएको छ ।
नगरपालिकाले गत मंसिर २९ देखि नगरको सबै वडामा विषादी नियन्त्रण अभियान सञ्चालन गरिरहेको भीमेश्वर नगरपालिका कृषि शाखाकी प्राविधिक सहायक राधिका बुढाथोकीले बताइन् ।
१, २, ३, ४, ६ र ७ नम्बर वडामा विषादी सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम भइसकेको र ५, ८ र ९ नम्बर वडामा पनि केही दिनमै कार्यक्रम गरिने उनले बताइन् ।
नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्युनीकरणसम्बन्धी अभियानमा विषादीले मानव र वातावरणीय क्षेत्रमा परेको असरबारे जानकारी दिइएको उनले बताइन् ।
विषादी मुक्त नगर निर्माणका लागि चुनौती भए पनि असम्भव भन्ने कुनै कुरा नभएकाले विषादी असरबारे सचेतना कार्यक्रम गर्नाले क्रमश ः कृषकहरुले विषादी प्रयोग कम गर्ने प्राविधिक सहायक बुढाथोकीले बताइन् । उनले कृषिका लागि माटो परिक्षण गर्नू अपरिहार्य रहेकाले सबै कृषकहरुलाई माटो परिक्षण गर्न आग्रह गरिन् ।
अभियान अन्तर्गतको कार्यक्रममा सम्बन्धित वडाका कृषकहरुले बिषादीको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
कृषकहरुले मौसमी तथा बेमौसमी तरकारी र अन्नबालीमा विभिन्न किसिमका रोग तथा किरा लाग्ने तर आवश्यकताअनुसारको प्राविधिक सल्लाह र विषादीको प्रयोगबारे उचित ज्ञान नभएको बताएका छन् । नगर प्रमुख भरत बहादुर केसीले नगरको समृद्धलागि कृषिको महत्वपुर्ण भूमिका भएकाले विषादीरहित नगर निर्माणका लागि सक्दो सहयोग गर्न आग्रह गरे । उनले रासायनिक विकल्पमा जैबिक विषादी निर्माण गरि प्रयोग गरेमा कृषिको उत्पादन पनि बढ्ने बताए ।
चिकित्सकहरुका अनुसार विषादी प्रयोग भएका अन्नबालीको सेवनले क्यान्सर, पक्षघात, पेटका विभिन्न रोग, मुटु रोग, मनोरोग, छालाको रोग, प्यारालाइसिस हुने गर्दछ ।त्यसैगरि विषादीको अधिक प्रयोगले प्रजनन प्रणालीमा असर भई गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन् क्षमतामा कमी लगायतका कैयौँ रोग लाग्ने चिकित्सकहरुले बताएका छन् ।
विषादी भनेको विष हो औषधी होइन, त्यसैले जथाभावी प्रयोग नगर्न चिकित्सहरुले बताएका छन् । नेपालले २१ वटा विषादीमा प्रतिबन्ध लगाइसकेको र प्राङगारिक कृषिमा जोड दिएको छ ।
Be the first to comment on "भीमेश्वर नगरपालिकालाई विषादीमुक्त बनाउने अभियान सुरु"