डम्बर चौलागाईँ
जब देखि
सम्झनाको अथाह गहिराइमा
तिम्रो हृदयको मुहानभित्र
निः सृत माया
कोमल वर्षा झैँ पोखिरहेछ
म कठोर अभिमान छाडेर
कोमल वर्षा झैँ पोखिएँ
र मधुमासको गीत गाउन थालेँ
त्यस समयदेखि
मैँले आँखामा
देश देखिरहेछु ।
जब तिम्रो ती आँखाहरुले
मेरा रुखा समवेदनालाई स्पर्श गरे
ती तरङ्गित भएका खुसीहरु
आत्मविश्वासको भीरपाखाबाट
मनलाई सिन्चित गर्दै
भोकलाई पेटभरी बोकेर
हेरिरहेछु तिम्रो आँखामा
जहाँ,
एउटा सिङ्गो देश देखिरहेछु ।
देश भेटाउन
तिमी खरखजना बोकेर
मृत्युको खाडल छाम्दै दौडिरहिछौ
समयको लगाम थिचि
झलकमानको साँरङ्गी बनेर
प्रतिवन्धित सहरमा
आदेशका घिनलाग्दा खकारहरु शिरमा थापेर
सिङ्गो मुलुकको
जिउँदो इतिहास लेख्न ।
जस्मा तिम्रो आवश्यकता छ
तिमी आऊ
माया, ममता र स्नेह त्यागेर आऊ
कठोर अनि अझ कठोर बनेर आऊ
आउँदा हामीलाई सम्झनु
त्याहाँ तिमीलाई सहयोग हुनसक्छ
आन्दोलनले उचाइ लिन सक्छ
रक्तविहिन क्रान्ति हुन सक्छ
जतिबेला तिम्रो विजय सम्भव छ
किनकी,
यहाँ, हत्या, हिँसा र बलत्कारको
विगविगी भइसक्यो,
अपराध झनझन् मौलाउँदै छ
स्वार्थ फस्टाउदैँ छ
त्यसैले तिमी,
हत्यारा, हिँसा र बलत्कारीको समुल
अन्त्य गर्न
तिम्रो आगमनको जरुरी छ
त्यो सम्भाना तिमीसगैँ मात्रै छ
तिमिले जन्माएको सन्तानले मात्र
यो देशको नेतृत्वको जिम्मा लिन सक्छ
त्यसैले मात्र देशको परिर्वतन फेर्न सक्छ,
त्यसैले त तिम्रो
आँखामा देश देखिरहेछ ।
Be the first to comment on "तिम्रो आँखामा"