चरिकोट –ईस्वर विक
दोलखाका दशवटा साना फर्म तथा उद्योग बन्द भई खारेज भएका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ को तथ्याङक अनुसार जिल्लामा सञ्चालित उद्योग तथा फर्म बन्द भएपछि खारेज भएका हुन् । जिल्लाको भिमेश्वर नगरपालिकाका, तामाकोसी गाउँपालिका, बैतेश्वर गाउँपालिकाका सो संख्याका फर्म तथा उद्योगहरु खारेज भएको घरेलु तथा साना उद्योग विकास समिति दोलखाले जनाएको छ । भीमेश्वर नगरपालिकाको वडा नम्बर १, ३, ८, १०, ६ मा स्थपना भएका केही फर्म तथा उद्योग खारेजी परेका छन् । तामाकोसी गाउँपालिकाको वडा नम्बर ३ र बैतेश्वर गाउँपालिकाको वडा नम्बर ४ स्थपना भएको उद्योग बन्द भई खारेजीमा परको समितिको कार्यालय प्रमुख सुजित कुमार झाले बताए । चाउचाउ उद्योग, राइस मिल, आरान, बेकरी कृषि फर्म लगायतका उद्योगहरु खारेजीमा परेको उनले बताए । घरायसी कारण, यातायातको सुबिधाको सहजता, पूँजीको अभाव, कच्चा पदार्थको अभाव, बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर उद्योगहरु बन्द भएको प्रमुख झाले बताए । गरिबी निवारण तथा रोजगारीका लागि उद्योग सञ्चालनमा ल्याएपनि आम्दानी हुन नसके पछि कतिपय उद्योगीहरु रोजगारका लागि विदेश गएकोले पनि ति उद्योगहरु बन्द भएको हुन सक्ने उनले बताए ।
अन्य जिल्लाको तुलनामा दोलखामा भने धेरै संख्यामा उद्योगहरु बन्द नभएको प्रमुख झाले बताए । तर उद्योगीहरुले भने दोलखामा सडक अवस्था, सहुलियत ऋणको अभावले उद्योग सञ्चालनका लागि कठिनाई भएको बताएका छन् । यस्तै दोलखामा गत आर्थिक वषमै १ सय २५ जना महिलाको नाममा प्राइभेट फर्म तथा उद्योग दर्ता भएका छन् । राजस्वमा विषेश छुटका कारण दोलखामा महिलाको नाममा उद्योग दर्ता गर्ने बढेको घरेलु विकास समितिले जनाएको छ । त्यसैगरि विपन्न वर्ग र दलितले उद्योग दर्ता गर्न चाहेको खण्डमा पनि विषेश छुट हुने समितिको कार्यालयले जनाएको छ । ३ करोड रुपैँयासम्म स्थिर पूँजी भएको उद्योगलाई साना उद्योग र ३ करोडदेखि १० करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई मझौला उद्योग भनिन्छ । १० करोडभन्दा माथि स्थिर पूँजी भएको उद्योगलाई ठुला उद्योग भनिन्छ । दोलखामा साना उद्योग गर्ने उद्यमीहरुको संख्या धेरै रहेको छ ।
Be the first to comment on "किन परे?दोलखाका दश उद्योग खारेज"