काठमाडौं – नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो । नेपाल तथा भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगका बैठकबाट २ देशबीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको बताउँदै मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।’ नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र २ मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
Be the first to comment on "सरकारले भन्यो – कालापानी क्षेत्र नेपालको भूभाग हो, एकपक्षीय नक्सा मान्य हुँदैन"