चरिकोट –दोलखाको पर्यटकीय नगरी जिरीमा आजबाट ‘जिरी स्ट्रिट फुड फेष्टिवल २०७६’ हुने भएको छ । फेष्टिवलको पर्यटन मन्त्री योगेश भट्राईले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । युवा सञ्जाल जिरीको आयोजनामा कात्तिक १ देखि ३ गतेसम्म स्थानिय खाद्यपरिकार, सांगितिक प्रस्तुती सहित फेस्टिबल सञ्चालन हुने आयोजकले जनाएको छ । स्ट्रिट फुड फेस्टिबलमा जिरीको मौलिक स्थानिय कला संस्कृति प्रदशनी, सांगितिक कार्यक्रम, खेलकुद प्रतियोगिता र विविध मौलिक तथा अन्य खाद्यपरिकारहरु खुला सडकमा नै प्रर्दशन गरिने छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कालाकार द्धारा सांगितिक प्रस्तुतीका साथै १४ वर्ष भन्दा माथी उमेर समुह अन्तरगत खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ ।नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा आयोजना हुने महोत्सवले जिरीमा पर्यटकीय गतिबिधि बढाउने आयोजकको अपेक्षा छ ।
नेपालको स्विजरल्याण्ड भनेर चिनिने सगरमाथाको प्रवेशद्वार जिरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नै चिरपरिचित नाम हो । सन १९५३ मा सर एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्न जादा जिरीको हुदै गएका थिए ।
त्यसैगरी मेलुङ गाँउपालिकामा आजबाट आलु महोत्सव हुने भएको छ । दुई दिन सम्म संन्चालन हुने महोत्सवको तयारी व्यापक रुपमा भई रहेको गाउँपालिकाले जानकारी दिएको छ । आधुनिक प्रविधीको प्रयोग गरी उत्पादनमा बृद्धि गरी कृषकहरुको आयस्तर बृद्धि गर्ने उदेश्यले मेलुङ आलु महोत्सव २०७६ को आयोजना गर्न लागिएको मेलुङ गाँउपालिका प्रमुख नर बहादुर श्रेष्ठले बताए ।
आलु महोत्सव २०७६ को अवसरमा बिभिन्न सांस्कृतिक झाँकिहरुको प्रर्दशन, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, आलुको बिभिन्न परिकारहरुको स्टल, मौसमी तथा बेमौसमी तरकारीहरुको स्टल र मेलुङ गाँउपालिकाको बिभिन्न ठाँउका तस्विरहरुको प्रर्दशन गरिने वडा अध्यक्ष एवं मेलुङ गाँउपालिकाका प्रवक्ता हिरा थोकरले बताए दोलखा जिल्लाकै उत्पादनको राम्रो संभावना रहेको मेलुङ गाउँपालिकाबाट बार्षिक एक करोड भन्दा बढीको आलु उत्पादन र बिक्रि वितरण हुदै आएको छ । मेलुङ गाँउपालिका वडा नम्बर ३ को भुमेस्थान, काडेँ, बाटुले, वडा नम्बर ४ को फुर्के सल्ला, तीतेचौर, सहरे, लहरे, माथिल्लो दम्बुवा, सरङ्थली तथा वडा नम्बर ५ को दुधिले, भङ्ज्याङ, कल्छे, डाँडाखर्क र कात्तिकेमा अत्यधिकमात्रामा बर्षे आलु उत्पादन हुने र त्यसको व्यवस्थापन तथा बजारीकरणको लागि आलु महोत्सव महत्वपूर्ण बन्ने जनाइएको छ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवले मेलुङ गाँउपालिकालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने, प्राङ्गारिक आलु उत्पादनमा टेवा पुग्ने, आलु उत्पादन हुने स्थानहरुमा परम्परागत तथा आधुनिक भण्डारण निर्माणमा सहयोग पुग्ने, सामुहिक खेती प्रणालीको सुरुवात हुने, व्यवसायीक पशुपालन कार्यक्रम प्रवद्धन हुने, आलुको ग्रेडीङ, लेभलिङ र प्याकेजिङमा सहयोग पुग्ने, नीजि, सरकारी र सहकारीको सहयोगमा गाँउपालिका बाहिर समेत बिक्रि केन्द्र स्थापना हुने अपेक्षा गरिएको छ ।
Be the first to comment on "मेलुङमा आलु महोत्सव र जिरीमा सडक फेस्टीवल आजबाट हुदै"