चरिकोट –दोलखाको मेलुङ गाउँपालिकाको आयोजनामा आलु र सुन्तला महोत्सव हुने भएको छ । पालिकाको वडा नम्बर ३ स्थीत भुमेस्थानमा कात्तिक १ र २ गते “आलु महोत्सव” तथा पुसमा वडा नम्बर १ स्थीत पवटीमा “सुन्तला महोत्सव” हुने भएको हो । महोत्सव २ दिन सम्म चल्ने गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए । कृषिलाई पालिकाले उच्च प्राथमिकता राखेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले कात्तिकमा “आलु महोत्सव ”हुने र पुसमा “सुन्तला महोत्सव” गर्न लागिएको उनले बताए । मेलुङ गाउँपालिकामा १८ सय मिटर माथि उत्पादन हुने आलु स्वादिलो र आर्गानिक आलु मानिने गरेको छ । मेलुङ गाउँपालिकाको अधिकांश भु–भागमा आलु उत्पादन हुने गरेको छ । त्यसैगरी वडा नम्वर १ सुन्तलाको उर्भर भुमि मानिने गरेको छ । पवटीमा उत्पादन हुने सुन्तला बर्षेनी जिल्ला तथा बाहिर निकासी हुदै आएको छ । पालिकाबाट एक करोड बराबरको आलु निकासी हुने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवका आलु परिकारको प्रर्दशनी,राष्ट्रिय तथा स्थानीय कलाकारले सांङगितिक प्रस्तुति दिने ,मौसमी तथा बेमौसमी तरकारीको स्टल राखिने तथा पालिका भित्रको तस्विर प्रर्दशन गर्ने जस्ता कार्यक्रम रहेको छ । महोत्सवमा अव्वल आलु उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए । महोत्सवको ३ नम्बर प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले उद्धघाटन गर्ने कार्यक्रम रहेको पालिकाकाले जनाएको छ ।
Be the first to comment on "मेलुङ गाउँपालिकामा आलु र सुन्तला महोत्सव हुने"