ईश्वर बिश्वकर्मा
चरिकोट, असार ३०
दोलखामा आर्थिक वर्ष २०७५÷०७६ को अवधिमा ४४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार ६ बालबालिका सहित ४४ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर विष सेवनका साथै हाम फालेर मानिसले आत्महत्या गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २९ जनाले झुन्डिएर र १३ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने मानिस ११ वर्षदेखि माथिका उमेर समुहका रहेका छन् । आत्महत्या गर्नेमा महिला भन्दा पुरुष बढि रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकृत प्रहरी निरिक्षक प्रदिप महतले बताए । दोलखामा आर्थिक वर्ष २०७२÷०७३ मा विष सेवन गरेर आत्महत्या गर्ने १२ जना, झुन्डिएर ३३ र हामफालेर ४ जना गरि ४९ जनाले आत्माहत्या गरेका थिए । त्यसैगरी २०७३÷०७४ मा विष सेवन गरेर १५, झुन्डिएर २३ र हामफालेर १ जनाले आत्महत्या गरेका उनले बताए । २०७४÷०७५ मा विष सेवनबाट १५ र झुन्डिएर ४६ जना गरि ६२ जनाले आत्महत्या गरेका थिए । यो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा अघिल्लो ३ वर्षको तुलनामा आत्महत्या गर्नेको संख्यामा कमि आएको प्रहरीले बताए । मानसिक तनाव, पारिवारिक कलह, प्रेममा धोका, काममा असफलता, सामाजिक तथा आर्थिक अवस्था, सामाजिक सञ्जालको दुरुपयोगको कारणले गर्दा आत्महत्या गर्नेको संख्या बढेको छ । साथै जाँड रक्सी, लागुपदार्थ सेवन, निरासापन, परिवारबाट विछोड, ठुला रोग लगायत कडा किसिमको मानसिक रोगका कारण मानिसले आत्महत्या गर्ने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोलखाकी मनोविमर्श कर्ता प्रमिला सेढाईँले बताइन् ।
मानिसले जीवनमा आइपर्ने सानातिना समस्या र चुनौतिको सामना गर्न नसकि भविष्य अन्धकार देख्ने हुँदा आत्महत्याको बाटो रोज्ने गरेको सेढाईँ बताइन् ।उनकाअनुसार मानिसलाई डिप्रेसनबाट जोगाउन सकेमा आत्महत्या सतप्रतिशत रोक्न सकिन्छ । व्यक्तिगत मानसिक र समाजिक स्वास्थ्यमा ध्यान दिने, चिन्ता, तनावजस्ता विकार मनबाट हटाउने, मद्यपान र लागुपदार्थ सेवन नगर्नाले आत्महत्याबाट बच्न सकिन्छ । त्यसका साथै आत्महत्याको संकेत मनोरोगीले देखाउन साथ तत्काल परामर्श सेवा उपलब्ध गराउन सकेमा आत्महत्या गर्नबाट जोगाउन सकिने उनले बताइन् । कतिपय मनोरोगीलाई मनोपरामर्श सेवाले निको हुने र माथिल्लोस्तरका मनोरोगीलाई मनोपरामर्श दिनुपर्नु साथै औषधी सेवन गर्नुपर्ने हुन्छ । मनोरोगीलाई तिरस्कार नगरी घर, परिवार, समुदायले नै आत्मसाहस प्रदान गर्न सकेमा आत्मा हत्या रोक्न सकिने उनले बताइन् ।
Be the first to comment on "दोलखामा एक वर्षको अवधिमा ४४ ले गरे आत्महत्या"