चरिकोट : बजार पसेको चितुवालाई स्थानीयले नै नियन्त्रमा लिएर वन कार्यांलयलाई बुझाएका छन्। सोमबार उत्तरी दोलखाको सिंगटी बजारमा चितुवा पसेपछि पूर्णबहादुर रुचालले चितुवालाई जिउँदै नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका हुन्।
विहान करिब ८ बजेतिर सिंगटी बजारमा देखिएको चितुवालाई सिंगटी चेकपोस्टमा रहेका प्रहरीले वनतिर नै लखेटेका थिए। केही बेरपछि पुनः पेट्रोलपम्प क्षेत्रबाट फेरि बजारमा प्रवेश गरेको देखेपछि विगु गाउँपालिका–८स्थित खोपाचागुका पूर्णबहादुर रुचालले उफ्रेर ढाड पट्टिबाट चितुवाको घाँटीमा थिचेर डोरीले बाँध्न सफल भएका थिए। उनले चितुवासँग १० मिनेट घम्साघम्सी गरेका थिए।
चितुवासँगको घम्साघम्सीमा रुचाल सामान्य घाइते भएका छन्। सुरुमा लखेट्न खोजेको तर बजारतिर नै पसेपछि १० बजेतिर समातेको चितुवासँग घम्साघम्सीमा घाइते भएका रुचालले बताए। रुचालले नै आफ्नो गाडीमा राखेर ३८ किलोमिटरको दुरीमा रहेको सदरमुकाम चरिकोटस्थित डिभिजन वन कार्यालयमा जिउँदै चितुवालाई बुझाएको कार्यालय प्रमुख सन्तमाया श्रेष्ठले बताइन्।
करिब साढे ४ फिट लम्बाई र २ फिट उचाई भएको चितुवा अत्यधिक ज्वरोको विरामी भएको कार्यालय प्रमुख श्रेष्ठले अनुमान गरिन्। भेटनरी उपचार गरेर स्वस्थ्य भए पछि उसको बासस्थान रहेको सोही जंगलमा छोडिने कार्यालय प्रमुख श्रेष्ठले बताइन्।
चितुवा नियन्त्रणको घटना पछि डिभिजन वन कार्यालयले दिँदै आएको २५ हजार राशीको वन्यजन्तु संरक्षण पुरस्कार रुचाललाई दिने कार्यालय प्रमुख श्रेष्ठले घोषणा समेत गरेकी छन्।
Be the first to comment on "दोलखामा जिउँदै चितुवा समाते"