वन्यजन्तु पीडितलाई १ लाख १२ हजार राहत

दीक्षण समाचार
चरिकोट, २२ जेठ

गौरीशंकर संरक्षण क्षेत्र आयोजना भित्रका बन्यजन्तुबाट पीडितहरुले राहत पाएका छन् । बुधबार सिंगटीमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले बन्यजन्तु पीडितहरलाई राहत वितरण गरेको हो ।
आयोजनाले मानवीय क्षतिमा परेको १ जना र घरपालुवा जनावरहरूको क्षतिमा परेका ७ जना गरी जम्मा ८ जना वन्यजन्तु द्वन्द पीडितहरूलाई जम्मा १ लाख १२ हजार ११५रूपैयाँ वितरण गरेको हो । एक वर्ष भित्र संरक्षण क्षेत्र आयोजना भित्र बन्य जन्तुबाट क्षति भएकाहरुलाई आयोजनाले राहत वितरण गरेको हो ।
एक वर्षमा विगू गाउँपालिका वडा नं. ३ बुलुङकी विष्णुकुमारी श्रेष्ठ भालुको आक्रमणमा परी घाइते भएकी थिइन् । उनलाई गत माघ ५ गते जंगलमा जाँदा भालुले आक्रमण गरी घाइते बनाएको थियो । उनले २३ हजार ११५ क्षतिपूर्ती स्वरुप प्राप्त गरिन् ।
त्यसैगरी गौरीशंकर गाउँपालिका वडा नं. ८ खारेका श्यामबहादुर खड्काको ७ वटा बाख्रा चितुवाको आक्रमणबाट मारेको थियो । उनले ३५ हजार क्षतिपूर्ती पाए । आयोजनाले एउटा घरपालुवा जनावरको ५ हजारका दरले क्षतिपूर्ती वितरण गरिएको आयोजना प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
आयोजनाले अघिल्लो वर्ष पनि १९ जनालाई ६ लाख ७५ हजार राहत स्वरुप वितरण गरेको थियो । साहले संरक्षण क्षेत्रभित्र बालीनाली क्षतिमा बाँदर र दुम्सीले किसानलाई बढी दुःख दिएको उजुरी आउने गरेको बताए । अर्को वर्षदेखि बालीनाली क्षतिको पनि राहतको व्यवस्था गर्ने बताए ।
प्रतिनिधि सभाका सांसद पार्वत गुरुङले बन्यजन्तुबाट भएको क्षति किसानहरुलाई दिनु राम्रो व्यवस्था भएको बताए । आयोजनाले संरक्षणमैत्री विकासमा पनि ध्यान दिनु पर्ने बताए । राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको अन्नपूर्णमा जस्तै पर्यटन प्रबद्र्धन गौरीशंकरमा पनि गर्नु पर्ने उनले जोड दिए ।
विश्व वातावरण दिवसको अवसरमा संरक्षण क्षेत्रले कपुरको विरुवा रोपेको छ । संरक्षण क्षेत्र आयोजना प्रमुख साहले आगामी वर्ष १ लाख विरुवा रोप्ने घोषणा गरे ।

Shares

Be the first to comment on "वन्यजन्तु पीडितलाई १ लाख १२ हजार राहत"

Leave a comment

Your email address will not be published.


*