– रमेश लम्साल
दोलखा, ९ चैत (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । जतिसक्दो चाँडो आयोजना सम्पन्न गर्न सार्थक पहल गर्दै आउनुभएका मन्त्री पुन आयोजना निरीक्षणका लागि शुक्रबार दोलखा पुग्नुभएको थियो । मन्त्री पुनले दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाको बाँधस्थल, सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनस्टकको अवस्थाको बारेमा निर्माणस्थलमै पुगेर जानकारी लिनुभयो ।
उहाँले करीब तीन घन्टा आयोजना निर्माणस्थलमा रहेर निकै चासोपूर्वक निर्माण कार्यको अवलोकन गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री पुनले आयोजनाको अनुगमन, निरीक्षण, समस्याको समाधान र सहजीकरणका लागि आफू प्राधिकरण तथा आयोजनाका उच्चपदस्थ अधिकारीसहित निर्माणस्थलमै आएको बताउनुभयो । उहाँले आयोजना प्रमुख दिनेशजङ्ग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग आयोजनाका प्रगतिका बारेमा जानकारी लिनुभएको थियो । मन्त्री पुनले तोकिएको समयभित्रै राष्ट्रिय गौरवका रुपमा रहेको तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिँदै त्यसमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो । आयोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय गौरवको यस आयोजना तोकिएको समय तालिकाभित्रै सम्पन्न हुने बताउनुभयो । उहाँले आगामी मङ्सिरभित्र आयोजना पूर्णरुपमा सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो । “यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भीर चासो छ, आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि मैले पूरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पूरा हुनेमा विश्वस्त छु”– मन्त्री पुनले भन्नुभयो । नेपाली श्रम, सीप र पूँजी परिचालन गरी ठूला आयोजना सम्पन्न गर्न सक्दैन भन्ने सोच विगतमा रहेको भन्दै उहाँले यसबाट नेपालीले ठूला आयोजना आफैँ बनाउन सक्छन् भन्ने पुष्टि भएको बताउनुभयो । मन्त्री पुनले तामाकोशी जलविद्युत् आयोजना नेपालका लागि नमूनायोग्य र महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो,“केही समयअघि भर्टिकल साफका कारण केही समस्या आएको थियो, हामीले टेक्सम्याक र एण्ड्रिजको बीचमा समझदारी बनाइदिएका छौँ, अहिले कामअघि बढिरहेको छ । त्यसैले पनि आगामी मङ्सिरसम्म सबै काम सम्पन्न हुन्छ ।” आफूले आयोजना प्रमुख र कार्यकारी निर्देशकलाई सँगै राखेर शुरुदेखि नै तालिकाअनुसार काम गर्न प्रेरित गरेको मन्त्री पुनको भनाइ थियो । यसअघि आयोजनामा समस्या देखिएपछि मन्त्री पुनले ऊर्जा मन्त्रालयका सचिव, प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख र टेक्सम्याको निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेर तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।
छलफलका क्रममा उहाँले आयोजनाको काम अघि नबढे ठेक्कासमेत तोड्ने चेतावनीसमेत दिनुभएको थियो । निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजनाआयोगका सदस्य डा कृष्णप्रसाद ओलीसहित आयोजनास्थल पुग्नुभएको हो । यसअघि गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आयोजनाको निरीक्षण गर्नुभएको थियो ।
भौतिक प्रगति ९८ प्रतिशत
आयोजना निर्माणका क्रममा देखिएका समस्या सरकारले समयमै हल गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक परिवर्तन देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत पुगेको छ । आयोजनाको सुरुङ निर्माणका क्रममा निर्माण कम्पनी उल्झन देखिएपछि केही दिनअघि ऊर्जामन्त्री पुनले नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत हुन निर्देशन दिनुभएको थियो । सोही निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरिरहेका छन् । हाल ठाडो सुरुङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ । आगामी मङ्सिरमा आयोजना सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । ‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको छ ।
Be the first to comment on "आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने"