ईश्वर बिश्वकर्मा
चरिकोट, भदौ २३
प्राकृतिक र धार्मिक पर्यटकीय स्थल शैलुङको प्रवेशद्वार कालापानीदेखि शैलुङ डाँडासम्म निर्माणाधीन मिनीग्रेटवालको काम ४५ प्रतिशत सम्पन्न भएको छ । चीनमा अवस्थित ग्रेटवालको झल्को दिने गरी गत वर्षको मंसिर अन्तिम सातादेखि काम सुरु भएको मिनीग्रेटवालको भौतिक प्रगति ४५ प्रतिशत भएको शैलुङ गाउँपालिकाका ईन्जिनियर कमल थापा मगरले बताउनुभयो ।
पाँच सय मिटर लम्बाइको ग्रेटवाल निर्माण गर्ने लक्ष्यका साथ सोवर्ण निर्माण सेवाले चार करोड ९४ लाखमा सम्झौता गरी सो अनुसार काम गरिरहेको छ । निर्माणले सेवाले हालसम्ममा दुई सय मिटर लम्बाइको वाल निर्माण अन्तिम चरणमा पु¥याएको ईन्जिनियर मगरले सुनाउनु भयो । काम सुरु हुँदा हिमपात र अहिले वर्षातका कारण कामले तीव्रता पाउन सकेको छैन । तर आगामी चैत्रसम्ममा सम्पूर्ण संरचना सहित मिनीग्रेट वाल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने उद्धेश्यका साथ काम भईरहेको छ ।
मिनीग्रेटवाल निर्माणको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन करोड ५० लाख उपलब्ध गराएको छ । बाँकी रकम गाउँपालिकाले व्यहोर्ने जनाएको छ । ईन्जिनियर मगरले मिनीग्रेट निर्माणपछि भूस्वर्गको रुपमा रहेको शैलुङको सौन्दर्यता बढ्नुका साथै पर्यटकीय चहलपहलमा वृद्धि हुने बताउनु भयो ।
धार्मिक तथा पर्यटकीय स्थल शैलुङ प्रकृतिले दिएको अनुपम उपहार हो । यसको प्रमुख विषेशता भनेको एक सय भन्दा बढी थुम्का हुनु हो । यहाँबाट विभिन्न हिमश्रृङ्खला देख्न सकिन्छ, भने पुसदेखि फागुन महिनामा थुम्काहरु हिँउले छोप्दा स्वर्ग खोज्न अन्त जानुपर्दैन । शैलुङ गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यसहित सन् २०२४ लाई शैलुङ भ्रमण वर्ष मनाउने जनाएको छ । सोका लागि पनि शैलुङ पुग्न सडक स्तरोन्तती गर्नुका साथै शैलुङलाई आकर्षक बनाउने कार्य भईरहेको छ ।
Be the first to comment on "शैलुङ मिनी ग्रेटवालको भौतिक प्रगति ४५ प्रतिशत"