ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख १२
मौसमी गर्मी चर्किरहेको बेला स्थानीय तहको चुनावी सरगर्मी अझ चर्को हुँदै छ । पाँच वर्षपछि पुनः एकपटक स्थानीय तहको चुनावले सहरदेखि गाउँसम्म छोएको छ। आसन्न स्थानीय तहको चुनावको विषयमा घरघरमा चर्चापरिचर्चा भइरहेको छ । झन्डा हल्लाउँदै हात जोड्दै मत माग्न नेताहरु आउन थालेका छन् । उनीहरूले विभिन्न आश्वासन र योजना सुनाएर प्रभावित पार्न खोजिरहेका छन्। आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरिरहेका छन्। तर चिल्ला र मिठा कुरा गर्ने नेता भन्दा पनि असल इमान्दार र जनगुनासो सम्बोधन गर्ने व्यक्तिलाई मत प्रदान गरी जिताउने यहाँका मतदाताले सोच गरेका छन् ।
जिल्ला नै चुनावी माहोलले तातेको बेला चरिकोट बजार नजिकै रहेको देउराली गाउँमा चुनावी माहोलले नछुने कुरै भएन । यो गाउँका मतदाताहरु चुनाव लागेसँगै मतदान अधिकारको उपयोग गर्न आतुर छन् । गाउँका ८० बर्षीय हरिबहादुर प्रधान चुनावको रौनकले उत्साहित हुनुहुन्छ । आफू मतदानमा सहभागी हुन आतुर रहेको उहाँ बताउनुहुन्छ ”पाँच बर्ष अघि भोट दिएका थियौं । फेरी भोट दिने समय आएछ । भोट हाल्न आतुर छु ।“ उहाँले भन्नुभयो ”भोट हाल्न पाउनु हाम्रो अधिकार हो । त्यसैले अधिकार त उपयोग गर्नु प¥यो नि !“
पञ्चायतकालदेखि मतदान गर्न थाल्नुभएका प्रधानलाई अहिलेसम्म कति औँ पटक मतदान गरियो भन्ने सम्झना छैन ।“ पञ्चायतकालदेखि भोट हालियो, कसले गनेर बस्छ र ! तर भोट हालेपछिको परिणाम र परिवर्तन के भएको थियो। त्यो चाहिँ दिमागमा ताजै छ।” उहाँले भन्नुभयो।
राम्रालाई दोहोरिन दिउँ
भोट दिएपछि आफ्नो जीवनमा कुनै परिवर्तन नआएको तर भोट पाएकाको भने जीवन कायापलट भएको कारण उहाँलाई २०७३ अघिसम्म आफ्नो मत खेर गएको झैं लाग्छ। ”उनीहरूको चिप्ला, मिठा र फुलबुट्टे आश्वासन र महत्वकांक्षी योजनाबाट प्रभावित भयौं । उनीहरूले चुनाव जिते, अनि झुटको खेती गरेर आफ्नो जीवन भने हरिलोभरिलो बनाए“ उहाँले भन्नुभयो ”तर पटकपटक उस्तै चरित्र भएकालाई जितारह्यौं । जसको परिणाम सधैं गरिबी र महँगीको जीवन मतदाताले जीउनुप¥यो। राम्रो काम गर्नेलाई दोहोरिन अवसर दिउँ ।“
२०७४ सालमा भने आफ्नो मतदान सफल भएको र सकरात्मक परिणाम देखिएको उहाँ बताउनुहुन्छ। त्यतिबेला आफूले मत दिएर जिताएका वडाध्यक्षले गाउँको गुनासो सम्बोधन गरिदिएको र मन जितेको उहाँ बताउनुहुन्छ । ठूल्ठूला काम गर्न नसकेपनि जनताको आवश्यकता र समस्या बुझिदिने त्यस्ता जनप्रतिनिधि फेरि देख्ने चाहना रहेको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो ”हाम्रोले होइन राम्रो काम गर्ने व्यक्तिले जितेपछिको परिणाम राम्रो नै हुन्छ । दुःख र अप्ठ्यारो परिस्थितिमा साथ पाइन्छ। यो पटकको चुनावमा पनि सोही नेतालाई दोहोरिने अवसर दिनुपर्छ। सो कुरा मतपेटिका व्यक्त गरिनुपर्छ।“ उहाँले उस्तै राम्रो काम गर्ने नयाँ व्यक्ति आएमा अवसर दिनुपर्ने बताउनुभयो । उहाँको कुरामा सहमत हुदैं सञ्जय कुमार शाहले २०७४ को निर्वाचनमा जितेर जनताको हितमा काम गरेकालाई पुनः दोहोरिने अवसर दिए अधुरो र अपुरो काम पुरा हुने विश्वास व्यक्त गर्नुभयो। रौतहटबाट कामको शिलशिलामा दोलखा आउनुभएका सञ्जय कुमार हरिबहादुरको घरको आँगनमा विश्रामको लागि बस्नुभएको थियो । सोही बेला उहाँले चुनावमा मतदान गरेपछि जनताले के पाए भन्ने प्रश्न गर्ने समय आएको सुनाउनुभयो । उहाँले भन्नुभयो ”चुनाव आएपछि गाउँमा नेता आउँछन्, तर जितेपछि एकपटक पनि मतदाता सम्झेर एक फर्किएर आउदैनन्, त्यस्ता व्यक्तिहरुलाई पटकपटक जितायौं । त्यस्तो ठूलो भूल गरेकोले बर्षेनी पछुताउनुपरेको हो ।“ गलत व्यक्तिलाई जिताएर नेतृत्वमा पुर्याउँदा जनताले अपेक्षाकृत परिवर्तन महशुस गर्न नपाएको उहाँको भनाइ छ । उहाँले आफूले राम्रो नेतालाई मतदान गर्ने योजना बनाएको र चुनावको लागि २९ गते साँझसम्म घर पुग्ने उहाँले सुनाउनुहुन्छ । उहाँ आफू मतदान गरेर नयाँ जनप्रतिनिधि चुन्न आतुर रहेको सुनाउनुभयो ।
क्षणिक लाभको लोभमा फस्नुहुँदैन
चुनाव नजिकिँदै गर्दा मतदाता प्रभावित पार्न विभिन्न रणनीति बुनिन थालेका छन् । प्रचारप्रसार गर्ने देखि हात जोडेर मत माग्न नेताहरु व्यस्त हुन थालेका छन् । यति मात्र होइन जसरी पनि मत आफ्नो पक्षमा पार्न जस्तोसुकै कदम चाल्न पनि दल तथा नेताहरु परिचालित हुने योजना बनाईरहेका छन् । चुनावको समयमा मतदातालाई क्षणिक लाभ प्रदान गरी मत तान्न चलखेल हुने गरेका छन्। विगतमा भएका चुनावलाई फर्केर हेर्ने हो भने त्यस्ता गतिविधि भएका थुप्रै उदाहरण छन् । तर यो पटक मतदाता होसियार हुनुपर्ने गौरीशंकर गाउँपालिका वडा नं. ३ झ्याँकु डाँडाखर्कका जीपछिरिङ शेर्पाले बताउनुभयो । ”चुनावमा क्षणिक लाभका लागि मत बेच्नु हुँदैन । दीर्घकालीन लाभ र आमनागरिकको स्वार्थका लागि काम गर्नेलाई चिनेर मतदान गर्नुपर्छ ।“ उहाँले भन्नुभयो ”चुनावको बेला क्षणिक लाभको लोभमा फसेर मतदान गर्नुहुदैन । यदि त्यस्तो भएमा गाउँमा विकास र परिवर्तन हुन सक्दैन ।“ अहिले चुनावमा मतका लागि महत्वाकांक्षी र हावादारी योजना सुनाउदै ललाइफकाई गर्नेहरु आउन सक्छन्। उनीहरूलाई बहिष्कार र निरुत्साहित गर्नुपर्ने उहाँको धारणा छ । जीपछिरिङले राम्रो व्यक्तिको हातमा पालिका तथा वडाको नेतृत्वको अवसर परेमा विकास र परिवर्तनको चाहना पुरा हुने बताउनुभयो । उहाँले भन्नुभयो ”गलत व्यक्ति नेतृत्वमा पुग्दा पछुताउनु र गाली गर्नुको बाहेक विकल्प हुँदैन । त्यसैले मत पत्र खसाल्नुअघि एक पटक भित्री मनदेखि विचार गर्नुपर्छ ।“ उहाँले आफू पनि राम्रो नेतृत्व चयनका लागि मतदान गर्न उत्साहित भएको सुनाउनुभयो ।
Be the first to comment on "दोलखामा मतदान गर्न आतुर मतदाता"