लालीगुराँस फुलेर ‘बगैँचा’ बन्यो दोलखाको वनजङ्गल

ईश्वर विश्वकर्मा
चरीकोट, चैत्र २
चराचुरुङ्गीको ’चिरिबिरी’ सँगै फूलहरुको माझमा रमाउन चाहनेका लागि वनजङ्गल अहिले उत्कृष्ट गन्तव्य बनेको छ। वनमा अहिले लालीगुराँस फूल ढकमक्क फुलेको छ। जसको निकट हुँदा मन हर्षित हुन्छ । फागुनदेखि फुल्न थालेको लालीगुराँस फूलले अहिले लेकदेखि बेंसीका वनजङ्गल राताम्य र सुरम्य बनेको छ । सोही कारण पनि लालीगुराँसको सौन्दर्यतामा भुल्न स्थानीयको विभिन्न क्षेत्रका वनजङ्गलमा चहलपहल बढ्दो छ। जिल्लाको शैलुङ, जिरी, चेर्यदुङ, चरीकोट लगायत क्षेत्रका वनजङ्गल यो बेला लालीगुराँस फूलले सजिएको छ। जिल्लामा थुप्रै क्षेत्र छ जहाँ लालीगुराँस फुल्छ । बिदाको दिनमा स्थानीयहरु यहाँका वनजङ्गलमा लालीगुराँसको सुवास ग्रहण गरी धेरै खुसी हुने गरेका छन्। तस्बिर र भिडिओ खिच्ने र टिकटकी खुराक निर्माण स्थल बनेको छ गुराँस फुलेका वन। यसको प्रचारप्रसार गर्न सकेमा बाह्य पर्यटकको समेत लर्को लाग्न सक्ने स्थानीय बताउँछन्। भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु नागस्थानका किश्वर लगुनले गाउँभन्दा केहि माथीको जंगल लालीगुराँस फुलेपछि बगैंचा जस्तो देखिएको सुनाउनुभयो। उहाँले भन्नुभयो’ लालीगुराँस फूलको बगैंचा बनेको वनजङ्गल हेर्दा नाचुँ नाचुँ लाग्छ । गुराँस फुल्दा वनै रमाइलो कोइली बोल्दा मनै रमाइलो…।“
वनमा पुग्दा अहिले जो कोहीलाई पनि गुराँस फूल्दा बनै रमाइलो…… भन्ने बोलको गीत गुनगुनाएर नाचुँ झैं हुन्छ । मनै चङ्गा हुन्छ। लगुन भन्नुहुन्छ “गुराँसको थुङ्गाले मोहित पार्छ । सबैलाई आकर्षित गर्छ । यसको प्रचारप्रसार गरेमा विदेशी पनि आउने स्थित छ।“ उहाँले वनजङ्गलमा मानिसको मिहिनेत र परिश्रम बिनै फुलेका लालीगुराँसको मापदण्ड बनाएर व्यवस्थित तवरबाट उपयोग गर्न सकेमा मानिसलाई यसले ठूलो गुन लाउने बताउनुभयो। उहाँले भन्नुभयो“ अहिले गुराँस ढकमक्क फुलेको छ । केहि समय पछि ओइलाएर सुकेर झर्छ । तर यसको सदुपयोग गर्न सके मानिसलाई फाइदा हुन्छ। यद्यपि कसैले यसप्रति चासो दिएको छैन। ती फूलहरु त्यतिकै वनमै कुहिएर खेर जान्छ।“ पछिल्लो वर्षहरुमा सडक खन्ने नाममा जताभावी डोजर चलाउँदा वनजङ्गल मासिन थालेको र जीवजन्तु चराचुरूङ्गी र विभिन्न वृक्षसँगै लालीगुराँस नासिदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। पहिले जँगल पनि ठूलो थियो । बाक्लो मात्रामा लालीगुराँस फुल्थ्यो । तर अहिले जंगलको स्वरुप बिगार्ने गरी अनावश्यक रुपमा डोजर लगाएर बाटो खन्दा पहिलेको जस्तो अवस्था रहन सकेन । उहाँले भन्नुभयो“ वातावरणको पहिलो स्रोतको रुपमा रहेको वनमा जताभावी बढ्दै गएको छ। सडकको नाममा वनजङ्गल मासिएको छ । रुख रोप्न कसैको चासो छैन। बर्षेनी डढेलो लाग्छ । जसले मानवलाई नै असर पारिरहेको छ।“ रुखमा फूल्ने लालीगुराँस अन्य फूलहरु भन्दा भिन्न र आफ्नै विशेषताको हुन्छ । विभिन्न अध्ययनहरूले देखाएको विवरण हेर्दा नेपालका वन ३२ प्रकारको लालीगुराँस फूलले आकर्षक बन्ने गरेको छ। नेपालको राष्ट्रिय फूल लालीगुराँसको महिमा र महत्व अधिक छ।

Shares

Be the first to comment on "लालीगुराँस फुलेर ‘बगैँचा’ बन्यो दोलखाको वनजङ्गल"

Leave a comment

Your email address will not be published.


*