काठमाडौं । आज थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए । प्रवक्ता देवकोटाका अनुसार हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६९ हजार ५८२ वटा नमुना परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ८५३ वटा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना रहेको पनि उनले जानकारी दिए । आज थप एकजना कोरोना संक्रमित निको भएर घर गएका छन् । कोरोना निको हुनेको संख्या २२० पुगेको छ । डिस्चार्ज हुनेमा पुरुष १७२ र महिला ४८ जना छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८
नेपालमा कोरोना भाइरसको संक्रमणबाट दुई वर्षे बालिकाको मृत्यु भएको छ । यो सहित अहिलेसम्म कोरोनाकै कारण आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो समय बाजुरामा एक साताअघि भारतबाट आमाबुबासँग आएकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि भारतबाट फर्किएको हो ।यसैगरी शनिबार दैलेखको दुल्लुमा पनि एकजना पुरुषको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।शनिबार भने दुल्लु नगरपालिका ११ दैलेखका ३५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक जनाको मृत्यु भैसकेको छ ।
Be the first to comment on "१६६ जनामा कोरोना संक्रमण"