३३ किलो सुन प्रकरणः पक्राउ परेका विमल पोद्दारको घरमा छापा

काठमाडौं । सुन तस्करी र हुण्डी कारोबारमा संग्लन भएको आरोपमा पक्राउ परेका व्यवसायी विमल पोद्दारको अपार्टमेन्टमा प्रहरीले छापा मारेको छ । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याको छानबिनका लागि बनेको विशेष अनुसन्धान टोलीले व्यवसायी पोद्दारलाई मंगलबार पक्राउ गरेको थियो ।

उनको निवासमा कालीमाटीबाट खटिएको  प्रहरी टोलीले छापा मारेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी प्रदीप क्षेत्रीले पोद्दारको डिल्ली बजारमा रहेको अपार्टमेन्टमा  खानतलासी गरेको पुष्टि गरे । प्रहरीका अनुसार पोद्दारले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए । यसअघि सुन तस्करीको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान टोलीले मंगलबार साँझ उनलाई पक्राउ गरेको थियो ।

पोद्दारमाथी कालीमाटी प्रहरीले पनि सार्वजनिक अपराध ऐनमा मुद्दा चलाएको छ । अनुसन्धान टोलीले पोद्दारबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।  टोलीले ३८ क्वीन्टल सुन तस्करी र हुण्डी कारोबारमा पोद्दारको संग्लनता भेटिएपछि उनीमाथि अनुसन्धान सुरु गरेको टोलीका एक सदस्यले बताए । पोद्दार विदेशी मुद्रा र सुन तस्करीमा पूर्वप्रहरी अधिकारीसँग मिलेर काम गर्ने गरेको पाइएको टोलीका एक सदस्यले बताए ।

उनको प्रहरीका उच्च अधिकारीसँग पनि कारोबार हुनसक्ने अनुसन्धान टोलीका एक सदस्यले बताए । पोद्दारको साथबाट बा ८ च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडी पनि बरामद गरिएको थियो ।

Shares

Be the first to comment on "३३ किलो सुन प्रकरणः पक्राउ परेका विमल पोद्दारको घरमा छापा"

Leave a comment

Your email address will not be published.


*