२७ जना उम्मेदवारद्धारा खर्च विवरण पेश

दीक्षण समाचार
चरिकोट, मंसिर २५
दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका २७ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । निर्वाचनमा भाग लिएका ५२ उम्मेदवारमध्ये आइतबारसम्म २७ जनाले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका हुन् । कार्यालयका अनुसार प्रतिनिधिसभाका २१ उम्मेदवारमध्ये आठ, प्रदेश सभा (क) १९ उम्मेदवारमध्ये नौ र प्रदेश सभा (ख) का १३ उम्मेदवारमध्ये दश जनाले खर्च विवरण पेश गरेका हुन् । निर्वाचनमा भाग लिएका दल र स्वतन्त्र उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३५ दिन भित्र खर्च विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही अनुसार जिल्लाका उम्मेदवारहरुले बिल भर्पाईसहित तोकिएको ढाँचामा खर्च विवरण पेश गरिरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी केसीले बताउनु भयो । जिल्लामा मंसिर १५ गते पुनः निर्वाचनपछि १९ गते मतपरिणाम घोषणा भएको थियो ।
निर्वाचनको बेला उम्मेदवारहरूले सवारीसाधन, इन्धन, प्रचारप्रसार सामाग्री, गोष्ठी, कार्यकर्ता परिचालन लगायतका शीर्षकमा भएका सम्पूर्ण खर्च विवरण आयोगको ऐन अनुसार तोकिएको समयसीमा भित्र पेश गर्नु पर्ने व्यवस्था रहेको छ । उम्मेदवारले खर्च विवरण पेश नगरे त्यस्ता उम्मेदवारलाई कारबाही हुने निर्वाचन आयोगको ऐनमा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "२७ जना उम्मेदवारद्धारा खर्च विवरण पेश"

Leave a comment

Your email address will not be published.


*