दोलखामा २० दिनमा तीन हजार ९१९ मतदाता थप

दीक्षण समाचार
चरिकोट, पुस ११
दोलखामा २० दिनको अवधिमा तीन हजार ९ सय १९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयले पालिकास्तरमा सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत नागरिकहरूले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । स्थानीय, प्रदेश र संघको निर्वाचनलाई लक्षित गरी जिल्लामा मंसिर १७ गतेदेखि पुस ९ गतेसम्म २० दिन पालिका स्तरीय मतदाता नामावली संकलन विषेश कार्यक्रम दुई चरणमा गरिएको थियो । मतदाता नामावली संकलन कार्य जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट नियमित भइरहेकोमा विषेश कार्यक्रम अन्तर्गत कोही नछुटुन्, कोही नदोहोरिऊन्, भन्ने नारासहित नागरिकलाई सहजताको लागि पालिका स्तरमा गरिएको थियो ।

पहिलो चरणको कार्यक्रम

पहिलो चरणको कार्यक्रममा गौरीशंकर, बिगु, कालिञ्चोक र शैलुङ गाउँपालिकामा मंसिर १७ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो । सो कार्यक्रमबाट दुई हजार ५ सय ७५ जनाले मतदाता नाम दर्ता गरेका छन् । चार पालिकामध्ये बिगु गाउँपालिकाबाट चार सय ८८ पुरुष र ५ सय १ जना महिला गरी नौ सय ८९ जनाले फोटोसहितको नाम दर्ता गरेका छन् । बिगु, गौरीशंकर र कालिञ्चोकको केन्द्रबिन्दु परेकोले विगु गाउँपालिकाको कार्यालय सिङ्गटीमा गरिएको कार्यक्रमबाट सबैभन्दा बढी मतदाता थपिएको निर्वाचन कार्यालयका प्रमुख नाम दर्ता अधिकारी विशाल केसीले बताउनुभयो । कालिञ्चोक गाउँपालिकाबाट ६१ पुरुष र ७८ महिला गरी १ सय ३९ जना, गौरीशंकर गाउँपालिकाबाट १ सय ८३ पुरुष र १ सय ५१ महिला गरी तीन सय ३४ जना, र शैलुङ गाउँपालिकाबाट १ सय १७ पुरुष र १ सय ११ महिला गरी दुई २८ जनाले नाम दर्ता गराएका छन् ।

दोश्रो चरण कार्यक्रम

मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म दोश्रो चरणअन्तर्गत जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकाको कार्यालयमा मतदाता नामावली संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रमबाट १ हजार ४ सय २६ जनाले नाम दर्ता गराएका छन् । जसमा तीन पालिकामध्ये सबैभन्दा धेरै जिरी नगरपालिकाबाट तीन सय ६७ पुरुष र तीन सय २१ महिला गरी ६ सय ८८ जना रहेका छन् । बैतेश्वर गाउँपालिकामा १ सय ३५ पुरुष र १ सय महिला गरी दुई सय ३५ जना, तामाकोसी गाउँपालिका १ सय ३४ पुरुष र १ सय ५ जना गरी दुई सय ३९ र मेलुङ गाउँपालिका १ सय ३४ जना पुरुष १ सय ३० महिला गरी २ सय ६४ जनाले नाम दर्ता गरेको प्रमुख नाम दर्ता अधिकारी केसीले बताउनुभयो । विषेश कार्यक्रम अवधिभर भीमेश्वर नगरपालिकाका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नाम दर्ताको व्यवस्था मिलाइएको थियो । जिल्लामा प्रशासन कार्यालयबाट ३ सय १ पुरुष र २ सय १४ महिला गरी पाँच सय १५ जनाले नाम दर्ता गरेका छन् । त्यसैगरी जिल्ला निर्वाचन कार्यालयबाट १ सय ३९ पुरुष र १ सय १४ महिला गरी दुई सय ५३ जनाले नाम दर्ता गराएका छन् । अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो । कार्यक्रम अवधिभर २९ पुरुष र ६ महिला गरी ३५ जना अन्य जिल्लामा स्थायी ठेगाना भएका नागरिकहरूले निर्वाचन कार्यालय दोलखाबाट नाम दर्ता गरेका छन् ।
इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न सुरु
मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका नागरिकहरुको लागि जिल्ला प्रशासन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय दोलखामा निर्वाचन आयोगबाट निर्णय प्राप्त नहुन्जेल निरन्तर नाम दर्ता गरिने प्रमुख नाम दर्ता अधिकारी केसीले सुनाउनुभयो । त्यसैगरी पुस ११ गतेदेखि १९ गतेसम्मका लागि इलाका प्रशासन कार्यालय सिङ्गटीमा नाम दर्ता अभियान सुरु गरिएको गरिएको उहाँले बताउनुभयो । ठाउँ सारी र त्रुटि सच्याउने कार्य जिल्ला निर्वाचन कार्यलयमा मात्र हुनेछ ।

Shares

Be the first to comment on "दोलखामा २० दिनमा तीन हजार ९१९ मतदाता थप"

Leave a comment

Your email address will not be published.


*