हिउँ पानी नपर्दा दोलखाका किसानलाई चिन्ता

चरिकोट, माघ ४ दोलखाका किसानहरु माघ महिना लाग्दा समेत हिउँ पानी नपरेपछि चिन्तित बनेका छन् । हिउँ पानी नपरेपछि जमिनमा सुख्खापन बढ्दा हिउँदे बाली घट्ने भन्दै किसानहरु चिन्तित बनेका हुन् । विषेश गरी सिंचाइ अभावमा आकाशे पानीको भर पर्ने किसानहरुलाई हिउँ पानी नपर्दा अन्नबाली कम हुने चिन्ता बढेको छ । गत वर्ष शैलुङ, जिरी कालिञ्चोक, खरीढुँगा, च्योर्दुङ लगायतका माथिल्लो क्षेत्रमा कार्तिक अन्तिम साताबाटै हिउँ पर्न सुरु गरेको थियो । निरन्तर पानी र पटकपटक हिउँ पर्दा हिउँदे बालीमा सिंचाई पुगेपछि किसानहरु उत्साहित भएका थिए । तर यो वर्ष माघ महिना लाग्दा समेत एक पटक पनि हिउँ पानी नपरेपछि आफूहरुलाई चिन्ता लागेको खरीढुँगाका किसान सोमलाल श्रेष्ठले बताउनु भयो । हिउँ पानी नपरेपछि आलु, गहुँ लगायतका अन्नबाली बारीमै सुकेर मर्न थालेको उहाँको गुनासो छ । शैलुङ गाउँपालिका वडा नं. ८ का लक्ष्मी श्रेष्ठले लामो समयसम्म हिउँ र पानी नपर्दा जमिनमा सुख्खापन र खडेरी बढ्दै गएको बताउनु भयो । गएका वर्षहरुमा समयमै खेतबारी हिउँले ढाकिन्थे । खेतबारी सिन्चित र चिस्यान हुन्थ्यो । तर यो वर्ष हिउँ नपरेपछि खेतबारी सुख्खा र उराठलाग्दा भएको उहाँले बताउनु भयो । हिउँ पानी नपर्दा लगाएको जमिन सुख्खा भई लगाएको बाली सुकेर मर्न थालेको गुनासो गर्नु भयो । “गत वर्षहरुमा हिउँदमा समयमै हिउँ पानी पथ्र्याे । आलु लगायतका हिउँदे बाली सप्रिन्थ्यो ।” उहाँले भन्नुभयो “तर यो वर्ष हिउँ पानी नपर्दा सुख्खा हुँदा अन्नबाली सोच जस्तो नहुने चिन्ता बढेको छ ।” शैलुङकै रामकुमार खातीले सिजन सक्किन लाग्दा पनि यसपटक हिउँ नपरेपछि अन्नबालीको उत्पादन घट्ने चिन्ता व्यक्त गर्नु भयो । शैलुङ आलु उत्पादनको लागि प्रसिद्ध क्षेत्र हो । यहाँ वार्षिक कराडौँको आलु उत्पादन हुन्छ । तर यो वर्ष हिउँ नपरेपछि उत्पादन कम हुने भन्दै किसानहरु चिन्तित भएको खातीले बताउनु भयो । भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारी रामेश्वर तामाङले लगाएको बालीमा सिंचाई नपुग्दा नउम्रने र उम्रेका पनि मर्ने समस्या बढेर गएको बताउनु भयो । उहाँले सिंचाईको लागि आकाशे पानीको भर पर्ने किसानलाई यो वर्ष पानी नपर्दा बाली उत्पादन नहुने चिन्ता बढेको बताउनु भयो । विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण समयमा हिउँ नपर्ने, पानी नपर्ने, चिसोमा अत्याधिक चिसो हुने, गर्मी धेरै हुने, अन्नबाली पाक्ने समय नै परिवर्तन हुने लगायतका असरहरु देखिन थालेका हुन् । जलवायु परिवर्तन न्यूनीकरणका लागि मानवीय क्रियाकलापलाई व्यवस्थित बनाइनु पर्ने विज्ञहरुको सुझाव छ ।

Shares

Be the first to comment on "हिउँ पानी नपर्दा दोलखाका किसानलाई चिन्ता"

Leave a comment

Your email address will not be published.


*