ईश्वर विश्वकर्मा, चरिकोट ः पुस महिना बित्न लाग्दा पनि हिउँ नपरेपछि दोलखाका होटल तथा पर्यटन व्यावसायीहरु चिन्तित भएका छन् । विगतमा पुस लाग्ने बित्तिकै पटकपटकको हिमपातले पर्यटकको संख्या वृद्धि हुने भएपनि यो बर्ष पुस बित्न लाग्दानि हिउँ नपरेपछि उनीहरु चिन्तित बनेका हुन् ।
दोखलाका मुख्य पर्यटन क्षेत्रहरु कालिञ्चोक, शैलुङ, जिरी, च्योर्दुङ लगायतका उच्च भुभागमा हिमपात हुँदा नेपालका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्दछ । हिउँले सेताम्य देखिने यहाँका मनोरम वातावरणमा रमाउन पर्यटक आउँदा व्यापारव्यवसाय पनि चम्किन्छ । तर यो बर्ष सिजन सुरु भएपनि हिमपातमा ढिलाइ हुँदा पर्यटकीय गतिविधि ठप्प जस्तै भएको कालिञ्चोकका होटल व्यवसायी चन्द्र कुमार लामाले बताउनु भयो ।
हिउँ नपरेपछि पर्यटकको हिउँमा रमाउने र व्यवसायीहरुको कमाउने चाहना पुरा हुन नसकेको उहाँको भनाइ छ । गत बर्ष समयमै भएको हिमपातले पर्यटन व्यवसायमा उत्साह छाएको थियो । हिउँ परेपछि कालिञ्चोकमा आयोजित स्कि प्रतियोगिताले पर्यटकको संख्यामा भारी वृद्धि भएको थियो । यो बर्ष पनि त्यस्तै हुने आशा गरिएको भएपनि हिमपात नहुँदा निराशा बढेको होटल व्यवसायी लामाले बताउनुभयो ।
हिमपातले डाँडा, पाखा, भिरपहाड, जँगल रुख सेताम्मे र सुन्दर हुन्छन् । पर्यटकहरु हिउँमै लडिबुडी गर्दै रमाउछन् । एक प्रकारको उत्साह र उमंगको वातावरण हुनका लागि हिँउ पर्नु पर्छ । तर यो बर्ष उत्साहको अवस्था बन्न र हिँउ पर्न सकेको छैन । हिँउ नपर्दा व्यवसायी निराश भएको खरीढुँगाका होटल व्यवसायी सीताराम घिसिङको भनाइ छ । उच्च हिमाली क्षेत्र सहित जिल्लामा तुसारो परेर चिसो बढेपनि हिउँ पर्न सकेको छैन । जसले गर्दा पर्यटकहरुको चहलपहल बढ्न नसकेको उहाँले बताउनु भयो । हिउँ पर्ने सिजनमा काठमाडौंका पर्यटन ब्यासायिहरुले समेत टुरप्याकेज बनाई आन्तरिक पर्यटकहरु दोलखा भ्रमणमा ल्याउने गरेका थिए । हिउँ पर्ने सिजननै दोलखाका होटल ब्यावसायीहरुको आम्दानीको सिजन हो । अरु समय आन्तरिक तथा बाह्य पर्यटकहरु कमै आउने गरेपनि हिउँपरेको समयमा भने ठूलो संख्यामा आन्तरिक पर्यटक ओइरिने गरेकोमा यो वर्ष भने हालसम्म हिउँ हैन पानीसमेत पर्न सकेको छैन । जसबाट यहाँका होटल तथा पर्यटन ब्यावसायीहरु चिन्तित रहेको पाइएको छ । विज्ञहरुका अनुसार जलवायु परिवर्तनका कारण समयमा हिउँ नपर्ने, पानी नपर्ने, चिसोमा अत्याधिक चिसो हुने, गर्मी धेरै हुने, अन्नबाली पाक्ने समय नै परिवर्तन हुने लगायतका असरहरु देखिन थालेका हुन् । जलवायु परिवर्तन न्यूनीकरणका लागि मानवीय क्रियाकलापलाई व्यवस्थित बनाइनु पर्ने विज्ञहरुको सुझाव छ ।
Be the first to comment on "हिउँ नपर्दा दोलखाका पर्यटन व्यवसायी चिन्तित"