चरिकोट(दीस) ः दोलखामा गुन्द्री, सुकुल तथा चकटी जस्ता घरायसी प्रयोगका समानको उत्पादन हुन छाडेको छ । म्याट लगायत अन्य प्लास्टिकजन्य सामाग्रीहरूको प्रयोग बढेसँगै जिल्लामा यस्ता सामानको उत्पादन हुन छाडेको हो ।
शैलुङका जेष्ठ नागरिक राम प्रसाद श्रेष्ठले आयातित समाग्रीले गाउँघरमा उत्पादन हुने सामाग्रीहरू हराएको बताउनुभयो । यस्ता पराम्परागत सीप र सामग्रीहरू लोप हुँदा पुरानो पुस्ता चिन्तित भएको उहाँको भनाई छ ।
“पहिले पहिले पाहुनाको सत्कारका लागि नयाँ गुन्द्री, सुकुल तथा चकटी को प्रयोग हुन्थ्यो । विवाह, ब्रतबन्ध जस्ता सामाजिक संस्कारमा यसैको प्रयोग गरिन्थ्यो ।” श्रेष्ठले भन्नुभयो, “ तर अहिले जताततै म्याट र प्लास्टिकका सामग्री पाउन थालेपछि सुकुल, गुन्द्री, चकटी जस्ता हातले बनेका घरायसी सामान हराएका छन्।“
सुष्पा क्षमावतीका सम्झना थामीले प्लास्टिक सामाग्रीको सहज उपलब्धताका कारण नयाँ पुस्ताले यस्ता सामग्र देख्न नपाउने स्थिति आएको बताउनुभयो। “ त्यतिबेला महिला दिदीबहिनीहरुले मकैको खोस्टा र पराल उपलब्ध हुने बित्तिकै चकटी, सुकुल, गुन्द्री बनाउन थाली हाल्थे । माग पनि राम्रै हुँदा कतिपयको घरखर्च चलाउने माध्यम थियो।“ थामीले भन्नुभयो “ तर अहिले ती सबै सम्झनामा सीमित भएका छन् । नयाँ पुस्ताको लागि यो कथा बनेको छ ।“ चकटी र गुन्द्रीमा बसेजस्तो आनन्द र फाइदा अहिलेका सामग्रीबाट नपाइने विगु गाउँपालिका औराङका मैँया बरालले बताउनुभयो । स्थानीय उत्पादनको सट्टा विदेशी आयातित सामग्री र परसंसस्कृतिले गाउँघरको मौलिकता मासिदै गएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
मौलिक संस्कृति र सामग्रीको जगेर्ना गर्न नसक्दा नेपालीको पहिचान नै गुम्ने खतरा बढेकोले यसमा सबैको ध्यान जान जरुरी रहेको बरालको भनाइ रहेको छ ।
Be the first to comment on "हराउन थाले गुन्द्री, सुकुल अनि चकटी"