स्वर्गीय नेता तामाङको स्मृतिमा भवन निर्माण

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन ६
आदर्श व्यक्तित्व एवम नेता स्वर्गीय  भीम बहादुर तामाङको स्मृतिमा दोलखाको विगु गाउँपालिका स्थित आलम्पुमा स्मृति भवन निर्माण गरिएको छ । नेपाली कांग्रेसका नेता तथा आदर्श व्यक्तित्व स्वर्गीय तामाङको सम्मान र स्मृतिमा विभिन्न व्यक्ति तथा संघसंस्थाको आर्थिक तथा निर्माण सामग्रीको सहयोगबाट भवन निर्माण गरिएको हो । विभिन्न संघसंस्था र व्यक्तिको सहयोगबाट संकलित ३ लाख रुपैयाँको लागतमा १ सय वर्गमिटर जग्गा पार्टीको नाममा खरिद गरी २०७४ सालबाट स्मृति भवन निर्माण सुरु भएको थियो । विभिन्न समस्या र चुनौतीको सामना गर्दै करिब ४ बर्षको अवधिमा ११ लाखको लागतमा स्मृति भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित एकतल्लाको स्मृति भवनमा करिब ५० जना क्षमताको हल, सभापतिको कार्यकक्ष गरी ३ वटा कोठा रहेको भवन निर्माण समितिका अध्यक्ष एवम् कांग्रेस नेता हस्त बहादुर थामीले बताए । विभिन्न चुनौतीका साथ निर्माण गरिएको उक्त भवनलाई वडा कार्यालयको रूपमा प्रयोग गरिने उनले बताए । बुधबार दोलखाका कांग्रेस नेता जीपछिरिङ लामाले भवनको उद्घाटन गरे । भवन उद्घाटन गर्दै नेता लामाले सबैको आदर्श र उदाहरणीय व्यक्तिको सम्मान र सम्झना स्वरूप भवन निर्माण गरिएको बताए । सादा जीवन उच्च विचारका धनी आदर्श व्यक्तित्व स्वर्गीय नेता तामाङको जीवन शैलीलाई सबै नेताका र हरेक नागरिकले अनुशरण गर्नूपर्ने धारणा राख्दै लामाले विगु गाउँपालिकाको विकास निर्माणमा आफ्नो तर्फबाट सहयोग गर्ने बताए । भवन उद्धाटन समारोहमा नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का, नेपाली कांग्रेसका पुर्व पार्टी सभापतिहरु तारा बहादुर कोइराला, उद्ववराज काफ्ले, जिल्ला नेता बर्मा लामा, प्रभुराम श्रेष्ठ, विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्का, नेपाल तरुण दल दोलखा अध्यक्ष दावासाङ्गे शेर्पा लगायतले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "स्वर्गीय नेता तामाङको स्मृतिमा भवन निर्माण"

Leave a comment

Your email address will not be published.


*