जानुका न्यौपाने
संविधानले भनेको त्यो पूर्ण स्वतन्त्र मान्छे
कहाँ छ ? खै कहाँ छ ?
स्वतन्त्रतापूर्वक
कतै खुल्ला रूपमा उड्न खोज्ने मेरो मन
माखे साङ्लोमा जेलिईरहन्छ
किनकि स्वतन्त्र मन भित्र
स्वाभीमान र नैतिकता अनि
दर्दै दर्दका पर्खालहरू छन्
पीडा अनि संवेदनाको बलियो पर्खाल
नाघ्न चाहेर पनि नाघ्न नसकिने
यही अन्तर्मन मुटुदेखि
इच्छा, चाहना र स्वतन्त्रताका लागि
अनि स्वतन्त्र विचार लेख्नका लागि उठेका
मेरा हातहरू,
थाकेर हो कि तलबाट तलै लत्रिरहन्छन्
खै थाहा छैन मलाई तलै झरिरहन्छन्
मन मनै अदृश्य औँलाहरू ठडिएर
सगरमाथा भन्दा अग्लो काँडे तारबार बनेर उभिन्छन्
खबरदार ! माथि उठ्ने होइन ! !
अनि सोध्छु
खै संविधानमा लेखिएको स्वतन्त्र मान्छे ?
पंक्षीका बचेरा झैं पखेटा उम्रिन्छन् दुई कोखिलाबाट
अनि उड्छु म उडिरहन्छु
तर, उड्दा उड्दै
सगरमाथा भन्दा अग्लो काँडेतारमा प्वाँख ठोकिएर
खस्छु म तल
तल….. खस्छु
कर्मशीलहरूको भीडमा
जहाँ शान्ती प्रेमी बुद्धको बास छैन
मात्र भेट्छु मैले
काँडै काँडाको बार
काँडे तारको घेराबार
या त मोनताको चिसो बासस्थान ।
मुटु भित्रबाट सामुद्रीक छाल बनेर उडेका
मेरा स्वतन्त्र विचार, अनि भावना
उठेर हतार हतार हतारिँदै दोडिन खोज्दैछन्
तर, उही नैतिकता र स्वाभीमानको नामले फेरि
मेरा इच्छा, संवेदनाहरूलाई
पछिल्तिर तानिरहन्छन् मेरो हिम्मतलाई
अनि मेरा स्वतन्त्रताका प्वाँखहरूलाई
लगाम बनेर पछिल्तिर तानिरहन्छन् ।
अनि सामूहिक रूपमा सोध्छु
खै संविधानमा लेखिएको
पूर्ण स्वतन्त्र मान्छे
त्यो म मात्र नभई
सम्पूर्ण रूपमा स्वतन्त्र मान्छे
कहाँ छ ? खै कहाँ छ ?
Be the first to comment on "स्वतन्त्र मान्छे"