स्थानीय जातको बिउ जोगाउने प्रयास

इश्वर बिश्वकर्मा
चरिकोट, माघ १३
दोलखाका हरेक किसानको रोजाईमा धान, कोदो, मकै र गहुँ लगायत तरकारीका बिउ हाइब्रिड नै पर्दछ । हाइब्रिड जातको बिउ स्थानीय स्तरमा मंहगोमा तर छ्पाछ्याप्ती पाइने र त्यस्ता बिउ रोप्दा उत्पादन बढी हुने भएकोले अधिकाँश किसानले हाइब्रिड नै रोप्छन् । पछिल्ला वर्षहरुमा आयातित हाइब्रिड जातको बिउको प्रयोग बढ्दै जाँदा पुस्तैँदेखि रोपिदैँ आएको स्थानीय जातको बिउ खोज्दा पनि पाउन कठिन छ । यसरी स्थानीय जातको बिउ लोप भएको बेला जिल्लाको भीमेश्वर नगरपालिका भने स्थानीय जातको बिउ संरक्षणको प्रयासमा लागेको छ ।
नगरपालिकाले स्थानीय जातको बिउ संरक्षण गर्न किसानहरुलाई ७५ प्रतिशत अनुदानमा विभिन्न अन्नबालीको बिउ वितरण गर्दै आएको छ । गत वर्ष १७ वटा कृषक समुह तथा कृषि सहकारीलाई ७ सय केजी धानको मुल बिउ खुमल ४, खुमल ८ खुमल १० र ४ सय केजी उन्नत जातको धानको बिउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको थियो । कृषि शाखा प्रमुख राधिका बुढाथोकीको अनुसार अनुसन्धान केन्द्रले उत्पादन गरेको बिउ मुल बिउ हो, भने मुल बिउ रोपेर उत्पादित भएको बिउ उन्नत जातको बिउ हो । गत बर्ष नै नगरपालिकाले १ वटा सहकारीलाई काब्रे २ जातको ९० केजी कोदोको बिउ वितरण गरेको थियो ।
यो वर्ष ति सहकारी र कृषक समुहले उत्पादन गरेको बिउको नमुना हेटाँैडामा रहेको बीउ बिजन प्रयोगशालामा परिक्षण गरिन्छ । परिक्षणको क्रममा जातिय शुद्धता, चिस्यानको मात्र, रोगकिराको अवस्था, उम्रने शक्ति लगायतका बिउको गुण परीक्षण हुन्छ । त्यसपश्चात् सहकारी र समुहले उत्पादन गरेको योग्य बिउ खरिद गरि बिउ ७५ प्रतिशत अनुदानमा वितरण गरिने कृषि शाखा प्रमुख बुढाथोकीले बताइन् । यो वर्ष स्थानीय जातको बिउ संरक्षण शिर्षकमा २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजित छ ।आयातित हाइब्रिड जातको बिउको प्रयोग बढेको छ । तर हाइब्रिड बिउ अन्य मुलुकले उपलब्ध नगराएको खण्डमा स्थानीय जातकै बिउ खोज्ने र रोप्ने अवस्था आउँछ । तर स्थानीय जातको बिउ जोगाएर राखिएन भने त्यस्तो अवस्थामा बिउ कै अभाव हुन सक्ने र बिउको अभाव भएपछि अन्नबाली उत्पादन कल्पनामा पनि हुन सक्दैन । त्यसैले अहिलेबाटै स्थानीय जातको बिउ संरक्षण गर्न चासो र जागरुक भएमा हाइब्रिड बिउको विकल्पमा स्थानीय जातको बिउ प्रयोग गर्न सकिन्छ । सोही अभिप्रायका साथ स्थानीय बिउको संरक्षणको प्रयास स्वरुपमा भीमेश्वर नगरपालिका अग्रसर भएको कृषि शाखा प्रमुख बुढाथोकीले बताइन् ।

Shares

Be the first to comment on "स्थानीय जातको बिउ जोगाउने प्रयास"

Leave a comment

Your email address will not be published.


*