दीक्षण समाचार
चरिकोट, मंसिर १२
दोलखाका उत्तरी क्षेत्रको नागरिक समाज र जिल्ला प्रशासन कार्यालयबीचको छलफलपछि आइतबार सिंगटीमा गरिएको सडक अवरोध हटेको छ । दोलखा–सिंगटी सडक खण्ड अन्तर्गत सिंगटी क्षेत्रको सडक स्तरोन्नती तथा व्यवस्थित पार्न माग राखेर नागरिक समाजको अगुवाईमा सिंगटी बजारको मुख्यचोकमा स्थानीयले मुढा, जस्तापाता त्रेस्याएर सडक अवरोध गरेका थिए । प्रशासनसँग भएको छलफलपछि सोही दिन दिउँसो ३ बजेबाट स्थानीयले सडक खुल्ला गरेका हुन् । छलफलले सडकको अवरोध हटाउने सहमति भएपछि सडक खुल्ला गरिएको हो । अब माथिल्लो निकायमा मागबारे ध्यानाकर्षण गराउने तयारी गरिएको उत्तरी क्षेत्रका नागरिक समाजका संयोजक कृष्णबहादुर उप्रेतीले बताउनुभयो ।
सडक कालोपत्रे गर्ने कार्य गुणस्तरहीन भएको तथा निर्माणको बाँकी काम ठेकेदारले अलपत्र पारेको र सरकारी पक्ष मुकदर्शक बनेको भन्दै आक्रोषित बनेका स्थानीय चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । सडक क्षेत्र भित्रको धुलो हटाउने, ढल निकास, कालोपत्र गर्ने बाँकी काम तथा सडकको मापदण्ड अनुसारको बाँकी सम्पूर्ण काम सम्पन्न गर्नका सरोकारवाला निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा हुन सकेको छैन । निर्माण कम्पनीलाई काम गर्न पटकपटक अनुरोध गरेको नागरिक समाजले सडकको काम सुरु नभएपछि जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालयहरुमा मंसिर ४ गते ज्ञापनपत्र बुझाएको थियो । तर माग अनुसारको काम सुरु नभएपछि नागरिक समाजले बाध्य भएर सडक अवरोध गरी आन्दोलनमा उत्रिएको हो । आइतबार भएको छलफलमा सडक हटाउने निर्णय भएपनि माग पूरा गराउन माथिल्लो निकायमै जानुपर्ने देखिएपछि सोही अनुसारको तयारीमा नागरिक समाज लागेको छ । स्वच्छन्द निर्माण सेवाले जिम्मेवारी पाएको दोलखा–सिंगटी सडक निर्माणमा कम्पनी र ठेकेदारले चरम लापरबाही गरेको छ । सडकको कालोपत्रे गर्ने कार्य गुणस्तरहीन र वातावरणमैत्री तथा बालमैत्री नभएकोले सिंगटी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई समस्या भएको छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी बर्षामा अत्याधिक हिलो हुने र हिउँदमा अत्याधिक धुलो उड्ने, ढल निकास पूर्ण रुपमा बन्द भएकोले सास्ती खेप्न बाध्य नागरिकहरु आक्रोषित भई आन्दोलनमा उत्रिएको सिंगटीका व्यावसायी नविन श्रेष्ठले बताउनुभयो ।
Be the first to comment on "स्थानीयले गरेको सडक अवरोध हटाइयो"