स्की खेलाडीको गन्तव्य बन्दै कालिञ्चोक

दीक्षण समाचार
चरिकोट, पुस २५
दोलखाको कालिञ्चोक क्षेत्रमा सहासिक खेल स्की खेल्दै रमाउनेहरु बढ्न थालेका छन् । एक साता भन्दा अघि कालिञ्चोक क्षेत्रमा भारी हिमपात भएपछि सो क्षेत्रमा हिउँ खेल्ने पर्यटक तथा हिउँमाथी स्की खेल्ने खेलाडीको बढेका हुन् । समुन्द्री सतहबाट तीन हजार ८ सय ४३ मिटर उचाइमा अवस्थित कालिञ्चोक क्षेत्रमा मन्दिरको दर्शन, केबलकारको मज्जा लिन, सुन्दर दृश्यावालोकन र हिमपात भएको बेला हिउँ खेल्न चाहने पर्यटकको घुँइचो लाग्छ । यसका साथै पछिल्ला वर्षहरुमा स्की खेलको लागि उपयुक्त ठहर भएपछि हिउँ पर्ने बित्तिकै कालिञ्चोकमा स्की खेलाडीको गतिविधि बढ्न थालेको छ । भिरालो जमिन हुनु तथा वर्षेनी हिउँ पर्नुले पनि स्कीका लागि कालिञ्चोक उपयुक्त गन्तव्य बन्न थालेको र पछिल्ला वर्षमा नेपालका विभिन्न स्थानका साथै विदेशबाट समेत स्की खेल्न खेलाडीहरु कालिञ्चोक क्षेत्रमा आउन थालेका छन् । नेपालको राजधानी काठमाडौँबाट सवारी साधनको यात्रापछि सहजै कालिञ्चोक पुग्न सकिने तथा बस्नको लागि पनि उचित प्रबन्ध मिल्ने भएकोले कालिञ्चोक सबैको रोजाईमा पर्ने गरेको छ । स्की खेल समेत खेलिन थालेपछि खेल पर्यटनमा कालिञ्चोकले उचाई लिन थालेको अन्तराष्ट्रिय पर्वतीय गाईड छिरिङ जाङ्बु शेर्पाले बताउनुभयो । शेर्पाले अन्तराष्ट्रिय स्तरमा रहेका साहसिक खेलहरुमा स्की पनि प्रमुख खेल रहेको उल्लेख गर्नुहुँदै दोलखा पर्यापर्यटनको उपयुक्त गन्तव्यको रुपमा चिनिएको जिल्ला रहेको सुनाउनुभयो । उहाँले सहासिक खेलको विकास र विस्तारमा स्थानीय सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । कालिञ्चोकमा पछिल्लो वर्षहरुमा स्की खेल खेलिन थालिएकाले स्की खेलको लागि विशेष क्षेत्र निर्धारण गरी यो खेलको निरन्तरता तथा तालिम स्थलको रुपमा विकास गर्न आवश्यक रहेको उहाँले सुनाउनुभयो । उहाँले जिल्लाको शैलुङ क्षेत्र पनि स्कीका लागि राम्रो क्षेत्र रहेको जिकिर गर्नुभयो । बालबालिकादेखि ८० वर्षका बृद्धले समेत खेल्न सक्ने स्की खेल्ने तरिका र यससम्बन्धि प्रचारप्रसारलाई व्यापक बनाइनुपर्ने उहाँको तर्क थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले कालिञ्चोक मात्र होइन दोलखाका अन्य स्थान पनि स्की खेलका लागि सम्भावना बोकेको बताउनुभयो । स्कीका लागि सम्भावित क्षेत्रको अध्ययन र अनुसन्धान गरी दीर्घकालीन योजना बनाएर लाग्नुपर्ने हुन्छ । स्की खेलको विकास र विस्तारको लागि आवश्यक प्रशिक्षण दिएर जनशक्ति तयार पारिनुपर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । उहाँले कालिञ्चोक क्षेत्रमा अव्यवस्थित बसोबास हुँदा पर्यटकीय सुन्दरतामा ह्रास आउन थालेकोले यसमा प्रशासनको ध्यानाकर्षण भएको र छिट्टै निकास खोज्न एक्सनमा उत्रिने सुनाउनुभयो । स्की खेलका लागि कालिञ्चोक उपयुक्त क्षेत्र भएकोले नेपाल सरकारले स्की यो क्षेत्रलाई रिसोर्टका रुपमा विकास गर्न गुरुयोजना तयार पारी तयारी थालेको छ ।
स्की खेल प्रशिक्षण सम्पन्न
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण पथप्रदर्शक संघले कालिञ्चोक कुरीमा तह एकको स्की तालिम आयोजना ग¥यो । एक साता सञ्चालन भएको उक्त तालिमको उद्धेश्य स्की खेलको विकास र विस्तारका लागि स्की खेलाडी उत्पादन गर्ने थियो । तालिम आइतबार सकिएको छ । तालिम आयोजना हुँदा पनि यो वर्ष कालिञ्चोकमा स्की खेलको गतिविधि बढेको हो । दोलखा सहित विभिन्न जिल्लाका १८ जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिममा अन्तराष्ट्रिय पर्वतीय गाईड छिरिङ जाङ्बु शेर्पा, छिरिङ पाण्डे भोटे, पासाङ काजी शेर्पा र आङनुरु शेर्पाले स्की खेल्ने तरिका लगायतको विषयमा प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो । तालिमका प्रशिक्षार्थी विरोध बर्लाकोटीले गएको वर्ष आउने तयारी भएपनि आउन नसकिएको तर यो वर्ष स्की सिक्न आउन पाउँदा खुशी लागेको बताउनुभयो । नेपालमा स्की खेलको सम्भावना रहेको छ । यसको लागि सिक्ने, सिकाउन र प्रचारप्रसार आवश्यक रहेको उहाँले बताउनुभयो । सैबीच स्की प्रशिक्षण तालिम समापनपछि चरिकोट आएको प्रशिक्षक तथा प्रशिक्षार्थीको टोलीलाई स्वागत गरिएको छ । टोलीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाले एक समारोहको आयोजना गरी स्वागत गरेको हो । पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा स्की खेलको विस्तारमा सहयोग गरेकोले टोलीलाई खादा लगाएर शब्दद्धारा स्वागत गरिएको महासंघका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो ।

तस्बीरः सुजन थामी

Shares

Be the first to comment on "स्की खेलाडीको गन्तव्य बन्दै कालिञ्चोक"

Leave a comment

Your email address will not be published.


*