सुनखानी स्वास्थ्य चौकी भवन हस्तान्तरण

सुनखानी–सुनखानी स्वास्थ्य चौकी भवन हस्तान्तरण भएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण सम्पन्न भवन बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । पूर्व पर्यटन मन्त्री आनन्द पोखरेलले भवनको साँचो कालिञ्चोक गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य चौकी भवन २०७२ भदौ १५ गते २ करोड ९ लाख ५ हजार ९ सयमा सम्झौता गरी निर्माण सुरु भएको हो । २ वर्षमा पूरा गर्ने गरी काम सुरु भए तापनि भौगोलिक कठिनाइका कारण टेवा पर्खाल, ले आउट परिवर्तन लगायतका कारण ९ प्रतिशत थप रकम लागेको सहरी विकास तथा भवन डिभिजन कार्यालय चरिकोटका प्रमुख एकराज अधिकारीले जानकारी दिए ।
तोकिएको भन्दा २ महिना ढिला गरी पूरा भवनको अन्तिम भुक्तानी कुल २ करोड ५६ लाख ३७ हजार रहेको उनले जानकारी दिए । धेरै ठेक्काहरु पटक पटक म्याद थप गर्दा पनि पूरा नहुने अवस्था भएकोमा यसलाई राम्रो र समयमै पूरा भएको कामको रुपमा लिनु पर्ने उनले बताए ।
भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व पर्यटन मन्त्री पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुलाई कानुनले दिएको अधिकार सही रुपमा प्रयोग गर्ने आग्रह गरे । स्थानीय सरकारलाई भरपूर अधिकार दिए पनि प्रयोग गर्न सके आमुल परिवर्तन हुने अन्यथा महङ्गो पर्ने बताए । कार्यक्रममा समयमा काम पूरा गरेको भन्दै कुशेश्वर÷सुन्दरी÷तामाकोसी जेभी काठमाडौंका प्रतिनिधि घनश्याम शिवाकोटीलाई धन्यवादपत्र वितरण गरिएको छ ।
भवन हस्तान्तरण अहिले भए तापनि २ हप्तादेखि कालिञ्चोक गाउँपालिकाको अस्थायी कार्यालय सञ्चालन भइरहेको छ । भदौरेमा भएको भाडाको घर साँघुरो र असुरक्षित भएको भन्दै हाल कालिनागस्थानमा रहेको स्वास्थ्य चौकीको अस्थायी भवनबाट सञ्चालन गर्ने निर्णय गरिएको हो ।
भुकम्पले स्वास्थ्य चौकी भवन क्षति भएपछि पक्कि भवन र युनिसेफले प्रि फा भवन सँगै सुरु गरे तापनि दुवै भवन एकैसाथ पूरा भएको छ । तत्कालै सञ्चालनका लागि छिटो छरितो रुपमा बनाउन प्रिफा भवन बनाउने सरकारी निर्णय भए तापनि ६ महिना भित्र पूरा गर्ने गरी सुरु गरेको प्रिफा भवन युनिसेफकै ठेकेदारका कारण ढिला भएको हो । स्वास्थ्य चौकीको काम काज भने प्रिफा भवनबाट सञ्चालन हुँदै आएको छ । युनिसेफले स्वास्थ्य चौकीलाई उपचारका उपकरण समेत हस्तान्तरण गरेको छ ।

Shares

Be the first to comment on "सुनखानी स्वास्थ्य चौकी भवन हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*