सुकाठोकरमा सामुदायिक स्वास्थ्य इकाइ सुरु

दीक्षण समाचार
चरिकोट, १ असोज
मेलुङ गाउँपालिका वडा नं. २ सुकाठोकरमा सामुदायिक स्वास्थ्य इकाइ सुरु भएको छ । सोमबार मेलुङ गाउँपालिकाका अध्यक्ष, नरबहादुर श्रेष्ठ र उपाध्यक्ष कल्पना भण्डारीले इकाइको उद्घाटन गरेका हुन् ।
सामुदायिक स्वास्थ्य इकाई सुरु भएपछि मेलुङ गाउँपाकिा वडा नं. २ का जनताले सहजै स्वास्थ्य सेवा पाउने भएका छन् । तत्कालका लागि गाउँपालिकाले एक जना अहेव र अनमी राखेर स्वास्थ्य इकाइ सञ्चालन गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सामान्य स्वास्थ्य उपचारबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर यहाँ स्वास्थ्य चौकी सुरु गरेको उनले बताए । सुकाठोकरबाट विगतमा ३ घण्टा उकालो चढेर सामान्य स्वास्थ्य सेवा लिन पनि भञ्ज्याङ जानु पुग्नु पर्ने बाध्यता थियो । अब यस्तो बाध्यताको अन्त्य भएको अध्यक्ष श्रेष्ठले घोषणा गरे ।
मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा २ वटा सामुदायिक स्वास्थ्य इकाई सुरु गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममै उल्लेख गरेको थियो । आर्थिक वर्ष सुरु भएको २ महिना बिते लगत्तै स्वास्थ्यकर्मी र औषधीसहित इकाई सुरु गरेको हो ।
मेलुङ गाउँपालिका अर्को स्वास्थ्य इकाई वडा नं. ५ मा स्थापना हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । स्वास्थ्य इकाइ उद्घाटन कार्यक्रममा उपाध्यक्ष कल्पना भण्डारी, वडा अध्यक्ष जितबहादुर भण्डारी, कालिका माविका प्रधानाध्यापक रामभरत तमाङ र गाउँपालिकाका स्वास्थ्य इकाइका मानदास श्रेष्ठले आआफ्नो मन्तव्य राखे ।

Shares

Be the first to comment on "सुकाठोकरमा सामुदायिक स्वास्थ्य इकाइ सुरु"

Leave a comment

Your email address will not be published.


*